भाषा र साहित्यको संरक्षण गर्नुपर्ने स्रष्टाको जोड



भैरहवा : नेपाली भाषा र साहित्यको संरक्षण गर्नुपर्ने स्रष्टाहरुले माग गरेका छन् । भैरहवामा आयोजित सिर्जनशील साहित्यिक समाज सिसासको १६ वार्षिकोत्सवमा बोल्दै प्राज्ञ बूँद रानाले नेपाली भाषा र साहित्यलाई कमजोर बनाउन नहुने बताउँदै लोपोन्मुख सम्पूर्ण नेपाली भाषाहरुको संरक्षण गर्नुपर्ने बताएका हुन् । भाषाको चिन्ता नहुँदा भाषामा बिचलन आएको बूँद रानाको भनाइ छ । भाषाको संरक्षण गर्नुपर्ने दायित्व सम्पूर्ण नागरिकहरुको दायित्व भएको रानाले बताए ।

प्राज्ञ सभा सदस्य प्रा.डा. कपिलदेव लामिछानेले कविता हुनका लागि घुमाउरो प्रस्तुती हुनुपर्ने बताए । साहित्य साधनाको विषय हो । साधकले केही पाउन खोज्दैन दिन खोज्छ लामिछानेले भने–‘नयाँ पुस्ता धेरै पुरस्कार सम्मानका लागि भौतारिएको छ । छिट्टै नतिजा आउने साहित्य होइन् । साहित्य सिर्जना गर्ने व्यक्ति हतारमा र पुरस्कार हुने लक्ष्यले लेखिने होइन् ।’

वरिष्ठ साहित्यकार तथा भाषाविद बालकृष्ण भट्राईले विद्यालयमा नेपाली भाषा र साहित्यको संरक्षण हुनुको साटो लोपोन्मुख भएको बताए । उनले भाषा कला नेपालीको पहिचान भएको हुँदा सबै नेपाली भाषा साहित्य बचाउन लाग्नुपर्ने बताए । कलेज पढ्नेले राम्रोसँग नेपालीमा निवेदन लेख्न सक्दैन भट्राईले भने–‘भाषाको संरक्षणमा अब सबै लाग्नु पर्छ हामी सबैको दायित्व हो ।’

सिसासको १६ औँ वार्षिकोत्सवमा कवि तथा स्रष्टाहरु पुरस्कृत भएका छन् । सिर्जनशील श्री फाइनान्स साहित्य पुरस्कारबाट छन्द कवि ठाकुर चन्द्र १५ हजार ५ सय ५५ नगद राशीको पुरस्कारसहित सम्मानित तथा पुरस्कृत भए । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सहकार्यमा सञ्चालीत पुरस्कारको मुल्यांकन समितीको संयोजक बालकृष्ण भट्राई थिए । पुरस्कृत स्रष्टाबारे सिसासका सल्लाहकार रुद्र ज्ञवालीले प्रकाश पारेको सिर्जनशील साहित्यिक समाज(सिसास)का अध्यक्ष शशि पन्थीले बताए ।

सिर्जनशील गंगा साहित्यकार पुरस्कारबाट तिलोत्तमा निवासी सरिता श्रीस सम्मानीत तथा पुरस्कृत भइन् । श्रीसले ७ हजार १ नगद राशीसहित सम्मानीत भइन । गंगा पुरस्कार गंगा लिगलले स्थापना गरेकी थिइन् । पुरस्कार मुल्यांकन समितिको संयोजक डा. कपिलदेव लामिछाने थिए । पुरस्कृत स्रष्टाको बारेमा स्रष्टा नरेश केसीले प्रकाश पारेका थिए । त्यसैगरि सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट सिसासका संस्थापक अध्यक्ष सुरज घिमिरे दिपशीखा नगद राशी ५ हजार ५ सय ५५ रुपियाँसहित पुरस्कृत भए । पुरस्कार मोती प्रसाद पौडेलले आफ्ना बुबाको स्मृतीमा स्थापना गरेको सिसासका सचिव कमल पोख्रेलले बताए ।

पुरस्कृत घिमिरेको बारेमा सिसासका पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीले प्रकाश पारेका थिए ।
सिर्जनशील छविलाल साहित्यिक पुरस्कारबाट कवि रुद्र शर्मा दुखी नगद २ हजार १ सय रकम सहित पुरस्कृत भए । विष्णु भण्डारीले आफ्ना पीताको सम्झनामा उक्त पुरस्कार स्थापना गरेका हुन् । कवि रुद्र शर्मा दुखीको बारेमा सिसासका पूर्व अध्यक्ष सुवास रिजाल यात्रीले प्रकाश पारेको र पुरस्कृत स्रष्टालाई ताम्रपत्र दोसल्लाले सम्मान गरिएको सिसासका अध्यक्ष शशि पन्थीले बताए ।

सिद्धार्थनगरका सामाजिक व्यक्ति ओम जैसीले स्थापना गरेको बिपन्न तथा जेहेन्दार पुरस्कारबाट भानु माध्यमिक विद्यालयमा अध्ययन गर्ने शुसील लाम्गादेले नगद ५ हजार १ रुपैयाँ पाएका थिए । जसको मुल्यांकन समितिको संयोजक सिसासका पूर्व अध्यक्ष छवि ज्ञवाली रहेको सिसासका सचिव कमल पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्