मुलुकी अपराध संहिताअनुसार कुटपिट गर्नेलाई यस्तो कारबाही हुन्छ



जनकपुरधाम प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको घटनाको चौतर्फी आलोचना भइरहेको छ । 

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधाम र मातहतमा कार्यरत कर्मचारीले विज्ञप्ति निकालेर घटनाको न्यायिक छानबिनको माग गर्दै घटनामा संलग्नलाई कारबाही गर्न र पीडित कर्मचारीलाई न्याय दिन माग गरेका छन् । 

गत भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहितामा कुटपिट वा अंगभंगसम्बन्धि कसुर व्यवस्था गरिएको छ । 

संहिताको परिच्छेद १४ अन्तर्गत दफा १९१ मा यसको व्याख्या गरिएको छ । जसको उपदफा १ मा ‘कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा, कुनै काम गरी रोग सारेमा वा अन्य कुनै कार्य गरी अशक्त बनाएमा निजले कुटपिट गरेको मानिनेछ’ भनिएको छ । 

उपदफा ३ मा ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ भनिएको छ । 

हेर्नुस् कानुन

आइतबार फाइल लिएर कार्यकक्षमा आएका सचिव झालाई आफूले भनेको गैरसरकारी संस्थालाई योजना नपारेको भन्दै मन्त्री यादवले थप्पड हानेका थिए । 

सङ्घीय सरकारका सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताएका छन् । 

वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रूपमा खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्