गन्धर्व दाइका ब्यथा, ‘अवस्था उस्तै छ हजुर’ 



म्याग्दी :

“नेता जीको भरपर्दो बात छैन

यिनको पनि गतिलो छाँट छैन 

पर्छ रात अवस्य दिन वितेसी

जनताको के वास्ता चुनाव जितेसी ”

गुल्मीको वडागाउँका ४६ वर्षीय शेरवहादुर गन्धर्वले सारङी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका बगरफाँटमा धेरै दर्शक ध्यानमग्न भए । २०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर गाउँगाउँमा गीत गाउँदै हिंडेका गन्धर्वका दुई छोरी, १ छोरा र श्रीमती छन् ।

परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीत मार्फत आफ्नो दुखोसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटबासीले पैसा र चामल दिदा गन्धर्वको अनुहार खुसीले भरीयो । देशमा राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै शेरवहादुर गन्धर्वले खाने गास र बस्ने बासको अभावकै कारण कतिपय पुर्खौली पेशाबाट विस्थापित भई बैकल्पिक पेशामा लागेको बताए । 

कुनै दिन बम्बई,  गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दा लड्दै विरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज फाट्टफुट्ट देखिन थालेका छन् । देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारे लगायत भाखामा खबर दिदै घुम्ने गन्धर्वहरु अहिले गरिबीकै कारण पेशा परिवर्तन गर्न बाध्य छन् ।

‘सारङगीको धुनमा घटनाक्रमहरुलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे’ बगरफाँटका ७४ वर्षीय टेकवहादुर कार्कीले भने   ‘गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसुचित बनाउने गाईने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।’ 

सूचना र संचारको पहुचसंगै ग्रामिण क्षेत्रमा समेत पाश्चात्य गीत संगीतको प्रभाव वढ्दै गइरहेको वेला कहिलेकाही गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरु हिजोआज विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक वेथितिका गीतहरु गाउन थालेका छन् ।  

नयाँ पुस्ता पाश्चात्य गीत संगीतमा झुम्न थाल्नु र पुख्यौली पेशावाट गुजारा नचल्ने अवस्था देखेर गन्धर्वहरु पेशाबाट बिमुख भएका हुन् ।  बेनपा २ बगरफाँटमा भेटिएका शेरवहादुर गन्धर्वले पनि अरु कुनै सीप नभएकोले पुख्यौंली पेशा अपनाउनु परेको बताए । गुल्मीदेखि वागलुङ हुँदै  म्याग्दीको वरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुरादेखि गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई गितमार्फत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्