संरक्षणको पर्खाइमा बराह ताल



म्याग्दी: धौलागिरि हिमालको प्रतिविम्ब स्पष्ट देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटमा अवस्थित बराह ताल संरक्षणको पर्खाइमा छ । साविक निस्कोट गाविसको ९ मा स्थित निस्कोटको सिरानमा रहेको बराहताल संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धनको पर्खाइमा छ । २ रोपनी क्षेत्रफलमा फैलिएको ताल समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा छ । 

तालको आसपासबाट नेपालको दोस्रो अग्लो धौलागिरि सहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी सहित आधा दर्जन मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न पाइन्छ । घना जङ्गल र केही वस्तीको बिचमा रहेको तालमा वनजङ्गल र हिमालको प्रतिबिम्ब निक्कै मनमोहक देखिन्छ । 

पर्यटकीय महत्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीसम्म पुग्न पदमार्ग निर्माण गरेको थियो ।

चालु आर्थिक वर्षमा निस्कोट गाउँदेखि बराहतालसम्म पुग्ने पदमार्ग निर्माण गर्न पाँचलाख रुपैयाँ बजेट विनियोजन गरिएको मालिका–१ निस्कोटका वडासचिव छविलाल उपाध्यायले बताए ।  तालको संरक्षण र प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने  स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्