इटहरी गोल्डकपको तयारी पूरा, राष्ट्रपतिले उद्घाटन गर्ने



इटहरी : मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ देखि हुने भएको छ । यो उक्त प्रतियोगिताको दोस्रो संस्करण हो । 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक राष्टिय जागृति क्लबले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, थ्रीस्टार, आर्मी क्लब, पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लबका साथै झापा–११, आयोजक राष्ट्रिय जागृति क्लब रहेका छन् ।

 

भारत र भुटानका टिमहरु पनि सहभागी हुने आयोजकले जनाएको छ । आयोजक क्लबका अध्यक्ष सञ्जीव ढुंगानाले इटहरी रंगशालामा माघ १२ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्टपति विद्यादेवी भण्डारीले गर्ने तय भएको बताए । अखिल नेपाल फुटबल संघ (एन्फा) सुनसरीका कोषाध्यक्ष कोवितजंग कार्कीले टिममा सहभागी टिमको अन्तिम टुंगो लागिनसकेको बताए । 

प्रतियोगितामा प्रथम हुने टिमले १६ लाख रुपैयाँ नगद पाउनेछ भने उपविजेता टिमले आठ लाख रुपैयाँ पाउनेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजारसहित ४२ इन्चको एलइडी टिभी, सर्वाधिक गोलकर्ताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले २० हजार रुपैयाँ पाउने र प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्