महोत्तरीमा अवैध मदिरा कारोबार बढ्दै, सम्बन्धित निकाय मूकदर्शक



महोत्तरी : भारतमा बिहार सरकारले मदिरा कारोबार तथा सेवनमा रोक लगाएपछि नेपालका सीमावर्ती क्षेत्रमा अवैध मदिरा भट्टीको कारोबार बढेको छ । भारतीय बजारमा  मदिरा बिक्री, वितरण तथा सेवनमा कडाइ भएपछि महोत्तरीका सीमावर्ती क्षेत्रमा व्यापार बढेको छ ।

महोत्तरीका भिठ्ठामोड, पर्सा पतैली, बथनाहा, मटियानी, एकडारा, सम्सीलगायतका सीमावर्ती क्षेत्रमा मदिरा सेवन गर्न नेपाली र भारतीय ग्राहकको बिहानैदेखि भीड लाग्ने गर्छ । मदिरा बेच्नकै लागि केही समय यता जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा करिब दुई दर्जन झुपडी बनिसकेका छन् । जथाभावी रूपमा खुलेका मदिरा पसलका कारण  विकृति बढेको जलेश्वर नगरपालिकाको उपमेयर उम्मेदवार रहेकी अनीता शर्माले बताइन् । 

नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमाको करिब ५ सय  मिटरभित्र मदिरा बेचविखनमा रोक लगाउने निर्णय भए पनि यसको पालना हुन सकेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा कडाइ गरे पनि गाउँघर र सीमावर्ती क्षेत्रमा अनुमति नै नलिई मदिरा पसल सञ्चालनमा छन् । तर तिनलाई बन्द गराउन प्रहरी प्रशासनले चासो नदिएको महोत्तरीवासीको गुनासो छ ।

 

महोत्तरीका गाउँगाउँमा खुलेका अवैध मदिरा पसलका कारण विद्यालय जाने बालबालिका, महिला त्रासमा बस्नुपर्ने अवस्था छ । समस्या गम्भीर भए पनि यसप्रति अहिलेसम्म प्रदेश सरकार, स्थानीय सरकार र प्रहरी प्रशासनले समेत ध्यान जानसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्