नाममात्रै अञ्चल अस्पताल, एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती



लमही : प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर एम्बुलेन्सविहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएका छन् । 

 

एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा१झ ११३ नम्बरको एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्स सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए । 

 

निजी एम्बुलेन्सले महङ्गो शूल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही दधिराम केसीले बताए । एम्बुलेन्स चलाउनका लागि एकजना चालकको दरबन्दी रहे पनि अहिले रिक्त छ । 

 

त्यस्तै घोराहीको स्वास्थ्यविज्ञान प्रतिष्ठान (साविकको राप्ती उपक्षेत्रीय अस्पताल) मा १० वर्षदेखि बिग्रिएको एम्बुलेन्स अझै मर्मत हुनसकेको छैन् । पटकपटक बिग्रिने र मर्मत गर्दा धेरै खर्च हुने भएकाले मर्मत नगरी त्यतिकै थन्क्याइएको छ । 

 

एम्बुलेन्सविहीन अस्पताल प्रदेश सरकारको सहयोगको पर्खाइमा छ । प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा दुईदुई एम्बुलेन्स उपलब्ध गराउने भनी बजेट ल्याएकाले त्यसकै पर्खाइमा रहेको अञ्चल अस्पतालका सूचना अधिकारी सुवेदीले बताए । 

 

दाङका सातवटा एम्बुलेन्स प्रयोगविहीन रहेका छन् । दाङमा सञ्चालनमा आएका ६२ एम्बुलेन्समध्ये अहिले ५५ वटा एम्बुलेन्स मात्रै सञ्चालनमा आएका छन् । राप्ती अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइन्स क्लब आफ तुलसीपुर, घोराही उद्योग वाणिज्य सङ्घ र होटल व्यवसाय समिति घोराहीलगायतका सातवटा एम्बुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको संयुक्त एम्बुलेन्स चालक सङ्घ दाङका अध्यक्ष इन्द्रबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्