निर्वाचन क्षेत्र विकास कोषको रकम दुरुपयोग हुने आशंका 



कैलाली : सुदूरपश्चिम प्रदेशसभामा बझाङबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ गरी तीनजना सदस्य छन् । निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ जितेका अर्जुन थापा अहिले सुदूरपश्चिम प्रदेशसभाका सभामुख छन् । त्यस्तै निर्वाचन क्षेत्र ‘ख’ बाट प्रत्यक्षतर्फ जितेकी देवकी मल्ल र समानुपातिकतर्फकी सांसद माया तामाङ बोहरा प्रदेशसभामा छन् । 

प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा सांसद विकास कोषको दुई करोड रुपैयाँ एक वर्षभित्र विकासमा खर्च गर्नुपर्ने प्रावधान छ । सो रकम खर्च गर्न आआफ्ना निर्वाचन क्षेत्रका अत्यावश्यक आयोजना छनोट गरी माग १५ भित्र पेस गरिसक्न सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्र पठाएको छ ।

कोषको रकमबाट बझाङबाट निर्वाचित प्रदेशसभा सदस्यले जिल्लाका केकस्ता समस्या सम्बोधन गर्दैछन् भनेर नेपाल टपले प्रश्न गर्दा सबैले फरकफरक प्रतिक्रिया दिए । 

सभामुखसमेत रहेका थापाले आफूले रकम दिने आयोजनाबारे खुलाउन चाहेनन् । उनले भने, ‘सांसद विकास कोषको रकम हामी आफैंले योजना छानेर खर्चने अधिकार छ । यो कुरा सञ्चारमाध्यममा दिँदा जनतामाझ नराम्रो सन्देश जान्छ’, उनले थपे, ‘सबै क्षेत्रमा आश्वासन दिएर जितेको छु । त्यसैले यसबारे सञ्चारमाध्यममा भन्नु उपयुक्त हुँदैन ।’ सबै नेता, सांसद र जनप्रतिनिधि बसेर योजना छनोट गर्ने उनले बताए । 

मल्लले आफ्नै घर भएको स्थानीय तह दुर्गाथलीका लागी रकम छुट्याउने बताइन् । तर उनले पनि कुन आयोजनाका लागि कति रकम छुट्याएको भन्ने खुलाउन चाहिनन् । उनले भनिन्, ‘अहिलेसम्म कुनै योजनाको टुंगो लगाएको छैन । फुर्सदमा कुरा गरौंला ।’

योजना छनोट गरी मन्त्रालयमा पेस गर्नुपर्ने समय नजिकिँदै जाँदा पनि योजना छनोट नै गरेको छैन् भन्दै पन्छिन खोज्नु ठीक नभएको बझाङवासीले भने आक्रोश व्यक्त गरेका छन् । बझाङ सुनकु्डाका राजेन्द्र अवस्थीले भने, ‘यसरी सूचना लुकाउँदा सांसद विकास कोषको रकम कतै आसेपासे र कार्यकर्ताका लागि पो खर्च हुँदैछ कि भन्ने आशंका उत्पन्न भएको छ ।’

बित्थडचिर गाउँपालिका १ का डम्मर बोहराले सांसद विकास काषको रकम समानुपातिक रुपले वितरण गर्नुपर्ने बताए । आफूनिकटका कार्यकर्ता र आफ्नै घर भएको स्थानीय तहका लागि धेरै रकम विनियोजन दुरुपयोग गर्न नहुने उनको भनाइ छ । उनले भने, ‘भोट सबै जनताले दिएको हो, सांसद विकास कोषमा पारदर्शिता देखाउनु सांसदको कर्तव्य हो ।’

समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य बोहराले भने अत्यावश्यक क्षेत्र तथा जनताको मागअनुसार योजना छनोट गर्न लागेको बताइन् । 

उनले बझाङको प्रमुख पर्यटकीय गन्तव्य सुर्मा सरोवरको तातोपानीसम्म सडक पुर्याउन बजेट विनियोजन गर्ने सोच रहेको बताइन् । त्यस्तै चैनपुरदेखि मयाना जोड्ने सडक नहुँदा ठूला जलविद्युत् आयोजनाका लागि मेसिन लैजान बाटो नहुँदा काम राकीएको भन्दै उनले सो सडक खण्डका लागि १० लाख विनियोजन गर्ने बताइन् । उनले समानुपातिक ढंगले विभिन्न योजनामा रकम छुट्याउने जानकारी दिइन् । 

 

प्रतिक्रिया दिनुहोस्