डा. केसीमा निमोनियाको संक्रमण, औषधि लिन अस्वीकार



विराटनगर :  इलाममा ६ दिनदेखि अनशनरत डा. गोविन्द केसीमा निमोनियाको संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान इलाम अस्पताल लगिएको थियो । त्यहाँ उनलाई सलाइन र अक्सिजन दिइएको छ । केसीले अस्पतालमै सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

मुटुको चाल अनियमित र निमोनियाको संक्रणम देखिए पछि केसीलाई अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजेन्द्रकुमार साहले बताए । उनका अनुसार डा. केसीको छात्तीको दायाँ भागमा निमोनियाको संक्रमण देखिएको छ ।

बोल्दा आवाज बन्द हुने, लगातार खोकी लागिरहने र मुटुको चालमा गडबडी भएपछि उनलाई चिकित्सक र सहयोगीको सल्लाहमा अनशनस्थलबाट अस्पताल पु¥याइएको हो । केसीले संक्रमण रोक्ने औषधि सेवन गर्न भने अस्वीकार गरेका छन् । 

शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी राष्ट्रिय चिकित्सा विधेयक माफियामुखी बनाउन लागेको भन्दै सत्याग्रहमा बसेका हुन् । सिथिल बन्दै गएका केसीलाई भेट्न १५औं अनशन बेलाका वार्ता टोलीका संयोजक डा. अभिषेक सिंहसहितको टोली इलाम पुगेको छ ।

 

डा. सिंहले सरकारले पछिल्लो सम्झौतामा शक्तिशाली चिकित्सा शिक्षा ऐनको परिकल्पना गरेर आयोगलाई कमजोर बनाउने खेल गरेको बताए । उनले डा. केसीसँग भएको सम्झौता कार्यान्वयन नै अहिलेको समस्याको समाधान भएको बताए ।  

केसीका समर्थकले आफूले गरेको सम्झौता आफैंले उल्लंघन गरेर सरकारले विश्वसीिनयता घटाएको टिप्पणी गरेका छन् । जनताको पक्षमा राष्ट्रिय चिकित्सा ऐन ल्याउनुपर्ने र शिक्षा तथा स्वास्थ्यमा भएको व्यापारीकरण अन्त्य हुनुपर्नै माग गर्दै केसी १६औं अनशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्