तिनाउलाई पशुपालनको मुख्य क्षेत्रका रुपमा विकास गरिने



पाल्पा : पाल्पाको तिनाउ गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले पशुपालनको निम्ति तिनाउ उपयुक्त क्षेत्र भएकाले गाउँपालिकाले यसको विकासमा ध्यान दिएको बताए ।

गाउँपालिकामा डेढ करोडको लागतमा पशु सेवा कार्यालय निर्माणको काम थालिएको छ । गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यसाथ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर इनोभेशन ललितपुरको रु एक करोड ५० लाख आर्थिक सहयोगमा भवन निर्माण शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष घर्तीले पालिकामा अहिले २५ भन्दा धेरै गाई फार्म रहेका जानकारी दिए । उनले गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए ।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाका विश्वनाथ भट्टराईले तिनाउ गाउँपालिका पशुपालन तथा पशु विकासका निम्ति उपयुक्त भएकाले गाउँपालिकामा नै जिल्लाको एकमात्र पशु सेवा भवन निर्माण शुरु गर्न सिफारिस भएको जानकारी दिए । गाउँपालिकामा हेफर इन्टरनेशनल नेपाल संस्थासँग साझेदारीमा बाख्रापालनको कार्यक्रम सञ्चालन गर्न दुई करोडको सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ । तिनाउ गाउँपालिका–६ को डुम्रेमा बढी मात्रामा गाई फार्म सञ्चालनमा छन् । त्यो सँगै पालिकाको, कचल, सत्यवती, दोभान कोलडाँडालगायत क्षेत्रमा बाख्रा, बङ्गुर, गाई, भैँसीलगायत पशुपालन गर्ने कृषक बढी छन् ।

तिनाउ गाउँपालिका–२ का वडाध्यक्ष राजेश श्रेष्ठका अनुसार कृषकलाई पशुपालनमा उत्साहित बनाउँदै एक लिटर बराबर दूधमा दुई रुपैयाँ, दूध प्रशोधनका लागि रु नौ लाखको मेशिन सहयोग, घाँस काट्ने मेशिन खरिद, गोठ भकारो सुधार, घाँसको बीउ वितरण, कृत्रिम गर्भाधारण सहयोग र पशु औषधि उपचारका लागि सहयोग गरेको जानकारी दिए ।

डुम्रेका गाई फार्म सञ्चालक गोपाल जिसीले आफ्नो फार्ममा २५ वटा दुहुना भएको जानकारी दिँदै पशुपालनको क्षेत्रमा गाउँपालिकाले सहयोग गरेकामा खुशी व्यक्त गरे । त्यस क्षेत्रमा उत्पादन हुने दूध प्रायः कास्कीको पोखरा तथा स्थानीयस्तरमा बिक्री हुन्छ । गाउँपालिकाले पशुपालनको क्षेत्रमा गरेको सहयोग तथा पशु पकेट क्षेत्रका रुपमा विकास गर्ने भएपछि कृषक खुशी भएका छन् ।

रामपुर कृषि र पर्यटनमा अगाडि

रामपुर नगरपालिकाका १० वटै वडामा विभिन्न काम भइरहे पनि भूबनावट तथा पर्यटकीय केन्द्रका रुपमा रहेको वडा नं ६ यतिबेला अगाडी देखिएको छ । वडा क्षेत्रको माटोको अवस्था हेरेर कृषिको विकास बिना समृद्धि असम्भव भएको भन्दै कृषिलाई तह छुट्याएर महिलालाई उत्साहित गर्दै आलु खेतीमा यस वर्ष बढी जोड दिइएको वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

केराखेती, मौरीपालन, बाख्रापालनलगायत कृषिअनुदानमा सहयोग गर्दै आएको वडाले एक घर एक धारा अभियानका लागि ५० प्रतिशत अनुदान सहयोग र खरको छानारहित वडा घोषणा गर्ने लक्ष्य लिएको छ । वडामा १७ कृषकले झण्डै ४० रोपनीमा केराखेती, ६८ कृषक तथा १० समूहले सामूहिक आलु खेती, २७ कृषकले मौरीपालन र एक सय केजी मासु उत्पादन गर्ने कृषकलाई अनुदान दिने गरी बाख्रापालनमा कृषकलाई प्रोत्साहित गरिएको छ । रामपुर क्षेत्र आलु खेतीका लागि उर्वर भूमि मानिन्छ । नगरपालिकाले यस क्षेत्रलाई आलुको पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

नगरपालिका–६ मै सरकारले १०० पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेको तालपोखरा छ । तालपोखरा क्षेत्रको विकासमा वडाले सहयोग गर्दै आए पनि अझै चाहेजस्तो बनाउन नसकिएको वडाध्यक्ष न्यौपानेको भनाइ थियो ।

प्याक्लुकमा अवस्थित ज्याग्दी सामुदायिक वनक्षेत्रलाई चिडियाखाना बनाउने लक्ष्यसाथ डिपिआर तयार पार्ने योजना भएको जानकारी दिँदै वडाध्यक्ष न्यौपानले गरिबीको रेखामुनिका बिरामीलाई सहयोग गर्ने उद्देश्यले बिरामीलाई रामपुर अस्पतालमा पुग्न लागि रु दुई हजार र रामपुरबाट अन्य क्षेत्र लैजान पाँच हजार प्रदान गरेको बताए । मुटुरोग, क्यान्सर, मिर्गौलालगायत जटिल रोेगका बिरामीलाई यसबाट सेवा पुग्नेछ । टिनको छाना लगाउने मजदूरलाई पाँच हजार ज्याला वडाले व्यवस्था गरेको छ । वडामा १४ घरमा भएका खरको छानो हटाएर टिन लगाइएको छ ।

रामपुरमा रहेका गाईको व्यवस्थापनमा वडाले चासो देखाएको छ । रामपुरमा छाडा गाईले खेती खाइदिएर हैरान परेका कृषकको समस्यालाई ध्यान दिँदै तातोपानी घाटमा गौशाला निर्माणका लागि महायज्ञ सञ्चालन गर्ने र धार्मिक पर्यटन विकास गर्ने हुँदा खुशी लागेको कृषक हुमा देवकोटाले बताए । वडाले कृषि क्षेत्रमा देखाएको चासोले वडामा व्यावसायिक कृषक बढिरहेकाले खुशी व्यक्त गर्दै नदी किनार महिला आयआर्जन कृषक समूहका अध्यक्ष भगवती देवकोटाले आलु जस्तै अन्य तरकारी खेतीमा सहयोगको आशा गरे ।

बालबालिकाको स्वास्थ्य तथा विद्यालयमा बालबाललिकालाई शैक्षिक तथा खेल सामग्री वितरण गर्दै आएको वडाले विद्यालयमा बालबालिकालाई भर्ना गरेर खाली चौरमा घाम तापेर समय बिताउने अभिभावकलाई स्वरोजगार बनाउन स्वेटर बुन्ने तालीम दिएको छ । यसका लागि रु ५० हजार छुट्याएको छ ।

वडाले वडाका विद्यालयमा विद्यार्थीलाई सरसफाइको सीप सिकाउँदै मन्जन ब्रस तथा साबुन वितरण गर्दै सफा रहने बानी सिकाउँछ । विद्यालयमा सचेतनामूलक प्रश्नोत्तर राखेर विजयी विद्यार्थीलाई वर्षमा एकपटक हर्लिक्स वितरण गरेको जनाइएको छ । विकास निर्माणसँगै वडाले विद्यालयमा चासो दिँदै विद्यार्थीमा नयाँ ज्ञान सिकाउनु वडाको साँच्चिकै प्रशंसायोग्य काम भएको दरैठाटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाको भनाइ थियो । उनले वडाको सहयोगमा अभिभावकमा स्वेटर बुन्ने तालीम दिएपछि महिलामा स्वरोजगार बन्ने उत्साह थपिएको बताए ।

प्रधानाध्यापक देवकोटाले वडा तथा स्थानीय सरकार विद्यालयमा पुगेर काम गरेको खासै नभेटिने गरेको बताउँदै प्रत्येक दिन विद्यालयले गर्ने काममा वडाले एक इँटा थपिदिएको जानकारी दिए । विद्यालयमा प्रत्येक दिन हाजिरीजवाफ जस्तै प्रार्थनामा नै प्रश्न सोधिने र विजयी विद्यार्थीलाई पुरस्कृत गर्ने चलन छ । रासस

प्रतिक्रिया दिनुहोस्