मेमोरी कार्डका लागि पत्नीको हत्या गर्ने श्रीमानसहित चारजना पक्राउ



जनकपुरधाम : धनुषामा घाँटी थिची बुहारीलाई हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

माघ १८ गते शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने २२ बर्षिया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका ५५ बर्षिय ससुरा राधाकृष्ण पासवान,४५ बर्षिया सासु कुमला पासवान,३० बर्षिय श्रीमान अनिल कुमार पासवान र २० बर्षिया नन्द पुनिता पासवानलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

आरोपितहरुले चिन्तामणीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको आरोपमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

यसरी भएको थियो घटना

माघ १८ गते शनिबार दिउँसो १ बजेको समयमा धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने अनिल कुमार पासवानको श्रीमती २२ बर्षिया चिन्तामणी पासवानलाई मोबाईलको मेमोरी कार्डको बिषयमा उनकी नन्दो पुनिता पासवान र चिन्तामणी पासवान बिच वादविवाद भएको र त्यसै विषयलाई लिएर लिएर चारैजना मिलेर चिन्तामणीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेका थिए ।

पछि उनीहरुले अपराधलाई लुकाउनका लागि मृतक झुण्डिएको हो भनेर हल्ला खल्ला गरी जिउँदै रहेको भन्दै अटो रिक्सामा राखि उपचारका लागि प्रादेशिक अस्पतालमा राखेर फरार भए ।

घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खोजतलास गर्ने क्रममा आरोपित मध्येका कुमला पासवान र पुनिता पासवानलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित पेठिया बजारबाट आइतबार साँझ ५ बजे पक्राउ गरेका थिए ।

त्यस्तै राधाकृष्ण पासवान र अनिल कुमार पासवानलाई आज (सोमबार) बिहान ६ बजे धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बलहा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

पक्राउ गरिएका चारै जनालाई प्रहरी हिरासतमा राखि घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडी बढाईएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्