नारायणी अस्पतालमा मेसुको चरम लापरबाहीले बिरामीलाई सास्ती



वीरगन्ज : दुई नम्बर प्रदेशको सबैभन्दा पूरानो र ठूलो अस्पताल नारायणी उपक्षेत्रिय अस्पतालमा एकतिर ८ करोड रुपैयाँमा खरिद गरेको सिटिस्क्यान मेसिन बिग्रिदा बिरामीहरुले निजी महंगो शुल्क तिरेर निजी संस्था धाउनुपर्ने अवस्था छ भने अर्का तिर मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन उपाध्यायको गैर जिम्मेवारीपनले अस्पताल लथालिंग बन्न पुगेको छ ।

गत साउनमा यस अस्पतालको नेतृत्व सम्हाल्न आइपुगेका मेसु उपाध्याय लगातार अनुपस्थिति हुँदा अस्पतालको प्रशासनिक अवस्थासँगै सबै क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । अस्पतालमा मासिक ५० लाख आम्दानी हुने भएतापनि नेतृत्वको लापरबाहिका कारण उचित व्यवस्थापन नहुँदा बिरामीहरुले उचित स्वास्थ्य सेवा लिन सकिरहेका छैनन् भने अस्पताल अस्तव्यस्त र दुर्गन्धित बन्न पुगेको छ ।

यहाँ आउने बिरामीहरु अस्पतालको दुर्गन्ध र फोहोरले गर्दा थप बिरामी हुने बिवसताबाट गुज्रिरहेका छन् ।

अस्पतालमा जडान गरिएको सिटीस्क्यानलगायतका महंगा मेसिनहरु मर्मत अभावमा थन्किएको अवस्थामा छ भने स्वास्थ्य सेवा विभाग र सहयोगि दाताले उपलब्ध गराएको महंगा–महंगा मेसिनहरु समेत बिग्रिएर थन्किएको अवस्थामा छन् । त्यस्तै डायलेसिस मेसिन समेत समान्य मर्मतको अभावमा बन्द हुँदा बिरामीहरुमाथि मार परेको छ ।

त्यस्तै २०७२ सालमा स्वास्थ्य सेवा विभागले ८ करोड रुपैयाँमा खरिद गरि पठाएको सिटीस्क्यान मेसिन ३ वर्ष पुग्दा नपुग्दै बिग्रिएको छ । सामान्य खराबि हुँदा पनि मेसिन मर्मत हुन नसक्दा बिगत ८ महिनादेखि बिग्रिएर बसेको छ । यसपछि बिरामीहरुले थप सास्ती खेप्नु परिरहेको छ । अस्पताल आउने बिरामीहरु अस्पतालमा सिटीस्क्यान बन्द भएपछि बाहिरि निजी अस्पतालमा चर्को मूल्य तिरेर सिटीस्क्यान गर्न बाध्य भएका छन् ।

रेडियोलोजिस्ट विभागका इन्चार्ज टेक्नोलोजिस्ट प्रदीप साहले सिटीस्क्यान मर्मतको अभावमा विगत ८-९ महिनादेखि यहाँको सेवाहरु ठप्प भएको बताए ।

यो मेसिन बिग्रिदा दैनिक १८ देखि २० जना बिरामी प्रभावित हुने गरेका छन् । सरकारी अस्पतालमा बिरामीहरुले सिटीस्क्यान गर्दा ३ हजार मात्र शुल्क दिनुपर्छ भने निजी अस्पतालहरुमा ४५ सयदेखि ९ हजारसम्म शुल्क तिरेर उपचार गराउन बाध्य छन् ।

अस्पतालका निमित मेसु डा. सुरेन्द्र चौधरीले मर्मतको अभावमा विगत ८ महिनादेखि अस्पतालको सिटीस्क्यान सेवा बन्द रहेको स्वीकार छन् । उनले स्वास्थ्य सेवा विभागका आपूर्ती महाशाखामा मेसिन बिग्रिएकोबारे २ पटक पत्रचार नै गरेर जानकारी गराई सकेको बताए । तर, यसबारे अहिलेसम्म मेसिन मर्मत गर्न कुनै प्रक्रिया अगाडी बढाइएको छैन ।

अस्पतालमा दैनिक ओपिडी र इमरजेन्सी गरेर ८ सयदेखि एक हजारसम्म टिकट कट्ने गरेको छ । ओपिडीमा १५ रुपैयाँ टिकट मूल्य राखिएको छ भने इमरजेन्सी सेवाका लागि २५ रुपैयाँ राखिएको छ । अस्पतालको लेखा अधिकृत रन्जन कर्णका अनुसार दैनिक डेढ लाखदेखि २ लाखको हराहरीमा आम्दनी हुने अस्पतालमा मासिक ५० लाखदेखि ६० लाखसम्म आम्दनी हुने गरेको छ ।

तर, अस्पतालका मेसु डा. उपाध्याय आफ्नो जिम्मेवारी बहन गर्न सकेका छैनन् । २०७६ साउन २० गते मन्त्रालयबाट सरुवा भएर आएका उपाध्याय साउन २२ गते अस्पतालमा हाजिर भएका थिए । उनी अस्पतालमा आएको ७ महिना बितिसक्दा नियमित १० दिन पनि अस्पतालमा उपस्थित भएका छैनन् । उपाध्याय कहिले सुत्केरी विदा, कहिले गोष्ठी, कहिले मिटिङ्ग, त कहिले काज त कहिले मन्त्रालय काजलगायत विभिन्न बहाना देखाएर अस्पतालबाट बाहिर रहने गरेका छन् भने अहिले माघ १९ देखि २३ गतेसम्म लागि बिदामा बसेका छन् । उनी माघ महिनामात्र १७ दिन बिदामा बसेका छन् ।

मेसु उपाध्यायको लापरबाहिका कारण यहाँ जडित डायलेसिस मेसिन समेत समान्य मर्मतको अभावमा बन्द भएको छ । विभिन्न सहयोगि दाता र स्वास्थ्य सेवा विभाग गरी ११ वटा डायलेसिस मेसिन अस्पताललाई उपलब्ध गराएको थियो । ११ वटा मेसिनबाट ४ वटा मेसिन बिग्रदा दैनिक १५ जनाभन्दा बढी बिरामी सेवा लिनबाट बन्चित भएका छन् ।

रुगंटा वेलफेयर सोसाईटी पर्साले उपलब्ध गराएको १ थान, टेन्डरबाट ३ थान र स्वास्थ्य सेवा विभाग गरी ११ थान डायलेसिस मेसिन अस्पतालमा जडान गरिएको थियो । तर, साउन १ गते टेन्डरप्रक्रियाबाट खरिद गरिएको ३ वटा डायलेसिस मेसिनमध्ये एउटा सञ्चालन गरिएको दिनमै बिग्रेको थियो ।

अस्पतालका मेसुलाई मेसिन बिग्रिएकोबारे बारम्बार जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको डायलेसिस विभागका ईन्चार्ज ज्योती गुप्ताले बताइन् ।

नारायणी अस्पतालमा डायलेसिस निशुल्क हुन्छ । यहाँ १ रुपैया पनि खर्च लाग्दैन तर विगत ७ महिनादेखि चार वटा मेसिन बिग्रदा बिरामीहरु अन्य निजी अस्पतालहरुमा महँगो शुल्क तिरी सेवा लिन बाध्य छन् । निजी अस्पतालहरुमा एउटा डायलेसिज गरेबापत ५ हजार रुपैयाँ लिने गरेका छन् ।

वीरगन्जको नारायणी अस्पताल काठमाडौंपछि मोफसलको पहिलो सरकारी अस्पताल हो । चार कोठे ओपिडी सेवा भवनबाट शुरु भएको नारायणी अस्पतालले २०१८ सालमा ५० शैया सेवा दिन थप सेवा दिन थालेको हो ।

इतिहास बोकेको यस अस्पताललाई संघीय सरकारले विशेषज्ञसेवासहित ५ सय शैयामा स्तरोन्नती गरेर प्रदेश २ कै नमुना अस्पताल बनाउने घोषणा गरेपनि त्यो घोषणा काजमै सिमित हुन पुगेको छ । त्यस्तै प्रदेश स्तरको मेडिकल कलेजका रुपमा पनि यस अस्पताललाई विकसित गर्ने योजनाले पनि साकाररुप लिन सकेको छैन । अहिलेसम्म स्थानीय दाताहरुको सहयोगमा स्थापना भएको यो अस्पातललाई न त संघीय सरकारले नै प्राथमिकतामा राखेर विकास गरेको छ न त प्रदेश सरकारले नै । स्थानीयवासीहरुको यस्तै गुनासो छ ।

तत्कालीन नगरप्रमुख माधवलाल श्रेष्ठ र काशीकान्त झाको प्रयासले नगरपालिकाबाट ३५ लाख सहयोग लिई १ सय ५० शैया सेवा सञ्चालनमा आएको हो । पछि नेपाल सरकारको सहयोगले २ र अस्पताल विकास समितिको सहयोगले १ सय गरी ३ सय शैयासम्म पुगेको थियो । नेपाल सरकारबाट हालसम्म भौतिक पूर्वाधारको लागि कहिल्यै सहयोग नपाएकोले भौतिक पूर्वाधारहरु वीरगन्जका स्थानीय दाताहरुको सहयोगमा क्रमशः निर्माण हुँदै आएको जानकारहरु बताउछन् ।
अस्पतालमा विकासमा सहयोगिको भुमिका निर्वाह गर्दै आएका समाजिक अगुवा एवं राजपाका सह महासचिव निजामुदिन समानी मेसुले अस्पतालको सेवा सुविधा धरासायी बनाएको प्रति चिन्ता जनाउँदै यसको विरोधमा उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्