काठमाडाैं: तरुलमा पनि नेपाल परनिर्भर छ। माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ। कन्दमूल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ। यसलाई चाकुसँग खाइन्छ।
उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ। त्यसमध्ये १० प्रतिशत (करिब २ करोड रुपैयाँको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ।
‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठूलो परिमाणमा उत्पादन हुन थालेको छ।’
महासंघका अनुसार यो वर्षको ६ दिन (पुस २५ देखि ३० गतेसम्म) मा काठमाडौं उपत्यकामा करिब दुई हजार पाँच सय टन तरुलको कारोबार भएको छ। त्यसैगरी यो वर्ष ९ करोड रुपैयाँको सखरखण्ड आयात भएको छ।