मन्दिरमा प्रहरी जुत्ता लगाएरै प्रवेश गरेपछि…



धनुषा : कुनैपनि धर्ममा धार्मिक स्थलहरु पवित्र स्थान मानिन्छ । हामी यस कुरालाई आफ्नो हृदयदेखि आत्मसात गरेका छौँ कि मन्दिर,मस्जिद,चर्च आदि ठाउँमा यदि हामी
जुत्ता चप्पल लगाएर गयौं भने देवीदेवता हामीसँग रिसाउनुहुन्छ ।

त्यसैले हामी धार्मिक स्थलहरु भित्र प्रवेश गर्दा भूलेर पनि जुत्ता वा चप्पल लगाएर जाँदैनौँ । र यो कुरा सबैलाई मान्य पनि छ अहिलेसम्म । तर के यो सर्वसाधारणका लागि मात्रै हो र ? प्रहरी प्रशासनले यस्ता कुराहरुलाई मान्दैनन् ? हो मान्दैनन् । नपत्याए यो तस्बिर हेर्नुस त…

यो दृष्य हो,हिन्दुहरुको आस्थाको केन्द्र एवं पर्यटकीय स्थल धनुषाको धनुषाधामस्थित धनुष मन्दिरको प्राङ्गण भित्रको । यहाँ प्रत्येक बर्ष माघ महिनाको प्रत्येक आइतबार विशाल मकरमेला लाग्ने गर्दछ । मेलामा लाखौँको संख्यामा श्रद्धालु भक्तजन लगायत नेपाल भारतका बिभिन्न स्थानबाट पर्यटकहरु समेत आउने गर्दछन् ।

मन्दिर भित्र दर्शन पूजापाठका लागि प्रवेश गर्दा सबैजनाले आ-आफ्नो जुत्ता चप्पल बाहिर फुकाल्छन । अनि मात्र भित्र प्रवेश गर्छन् । आइतबार पनि यस्तै दृष्य देखियो,पूजापाठका लागि हजारौं दर्शनार्थीहरु मन्दिर परिसरमा थिएँ ।

सबैको जुत्ता चप्पल बाहिरै थियो । तर मन्दिर भित्र ड्युटीमा रहेका सुरक्षाकर्मीहरु जुत्ता लगाएरै भगवानको पूजा गर्ने ठाउँसम्म सहजै आवतजावत गरिरहेका थिए । उनीहरूले मन्दिर भित्र प्रवेश गर्ने व्यक्तिलाई जुत्ता चप्पल बाहिरै फुकालेर जानुस भनिरहँदा आफै फेरि जुत्ता लगाएरै मन्दिरमा थिए ।

मन्दिरमा प्रहरीले जुन ढंगले काम गरिरहेका थिए,त्यसले प्रहरी प्रशासनको प्रतिष्ठा बढाउँछ कि घटाउँछ यस विषयमा उच्च प्रहरी अधिकृत तथा नीतिगत निर्णय गर्ने सबैले ध्यान पुर्‍याउन जरुरी देखिन्छ । प्रहरीको काम श्रद्धालुलाई लाइनमा लगाउने र फूल प्रसाद कता हाल्ने भनेर कराउने हो कि होइन ? आफै जुत्ता लगाएर बस्ने अनि अरुलाई अनुशासनको पाठ सिकाउने यो कस्तो प्रवृती प्रवृत्ति ?

ज्ञातव्य होस,यसअघि २०७२ सालमा बलिउड सुपरस्टारहरु शाहरुख खान र सलमान खानलाई पनि एउटा विज्ञापनको सुटिङ्गको क्रममा कालीको मन्दिरमा जुत्ता लगाएर प्रवेश गरेको भन्दै उनीहरुविरुद्ध अखिल भारत हिन्दु महासभाले अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्