प्रस्तावित राजदूतबिरुद्ध उजुरी परेन



काठमाडौँ: विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई आगामी विहीवारदेखि हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध कुनै पनि उजुरी नपरेपछि लागि सुनुवाई विहीवार र शुक्रवारका लागि तय गरिएको हो ।

दुई दिन राजदूतहरुको सुनुवाई तोकिएको बताउँदै संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले भने–‘समितिले खोजेको विषय माथि कोही पनि राजदूत माथि उजुरी परेको छैन ।’ गत पुस १८ गते बसेको समितिको बैठकले प्रस्तावित राजदुत विरुद्ध उजुरी दिन १० दिनको समय तोकेको थियो ।

यो अवधिमा क्यानडामा नेपाली दूतावास आवश्यक नभएको भन्ने प्रकृतिको एउटा मात्रै उजुरी परेपनि सो उजुरी समितिले खोजेको विषय सान्दर्भिक नभएको अर्यालले बताए ।

गत पुस ९ गतेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ५ जना सहसचिवलाई राजदूत सिफारिस गरेको थियो । परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय र क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूत सिफारिस गरिएको छ ।

त्यसैगरी अर्का सहसचिव मणिप्रसाद भट्टराई जेनेभास्थित संयुक्त राष्ट्रसंघको लागि नेपाली स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय तथा इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय राजदूतमा सिफारिस हुनु भएको छ । उहाँलाई विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनको लागि पनि स्थायी प्रतिनिधि तोकिएको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्