मधेसमा यौनशिक्षाबारे बहस : शिक्षक नै यसबारे बोल्न हिच्किचाउँछन्



जनकपुरधाम : तराई मधेशका युवामाझ अझै यौनसम्बन्धी शिक्षामा पर्याप्त जानकारी र आवश्यक ज्ञान अभाव भएको पाइन्छ । यस विषय उनीहरू अहिले पनि खुलेर कुरा गर्न सक्दैनन् । चाहे स्कुल होस् घर वा साथीभाइ । झन अभिभावकसँग यस विषयमा कुरा गर्नु निकै परको कुरा हो ।

 

शिक्षकहरुसमेत विद्यार्थीमाझ यौन शिक्षाका विषयमा अध्यापन गर्न हिच्किचाउँछन् । उनीहरु पाठ्यक्रम समावेश भएका कुरा विद्यार्थीमाझ बोल्नसम्म हच्किने गरेक जनकपुरधाममा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । कार्यक्रममा यस विषयमाथि निकै टीकाटिप्पणी भएको थियो । 

 

कार्यक्रमका वक्ता प्रा.डा. तथा नेपाल परिवार नियोजन संघका महानिर्देशक कृष्णप्रसाद विष्टले यो समस्या तराई मधेशमा मात्र नभई हिमाल तथा पहाडमा पनि उस्तै रहेको बताए । यस्तै कार्यक्रममा यौन शिक्षासम्बन्धी पाँचदिने तालिम पनि सम्पन्न भएको छ ।

नेपाल परिवार नियोजन संघ जनकपुरको सभा हलमा भएको कार्यक्रममा परिवार नियोजन संघका महानिर्देशक कृष्णप्रसाद विष्टले प्रमुख आतिथिको आसनबटै यौन शिक्षासम्बन्धी विभिन्न तालिम सम्पन्न गर्न धेरै दिन लागेको अनुभव सुनाएका थिए ।

उनले आजभन्दा धेरै वर्षअघि कैयौं मेहनतपछि युवाहरुको साथ लिएर सरकारलाई ज्ञापनपत्र दिएको स्मरण गर्दै सरकारले यस विषयलाई पाठ्यक्रममा उचित तरिकाले समाविष्ट गरिनुपर्नेमा जोड दिए । 

उनले यौनसम्बन्धी ज्ञान अभावले समाजमा रुपान्तरण सम्भव नभएको जिकिर गरे । उनले उपस्थित सबै शिक्षकलाई स्कुलमा कसरी यसबारे प्रस्तुत हुनुहुन्छ भनी प्रश्न गरेका थिए । 

तालिम समापनको कार्यक्रममा बोल्दै परिवा र नियोजन संघका धनुषा जिल्ला अध्यक्ष नथुनीलाल दासले सामुदायिक विद्यालयको अवस्था र त्यहाँको शिक्षा पद्धति बिग्रेकोप्रति चिन्ता व्यक्त गरेका थिए । दासले स्कुलको विद्यार्थी, शिक्षक, अभिभावक जहिलेदेखि यस विषयमा खुलेर कुरा गर्न सक्छन् त्यसैदिनदेखि यस तालिमले सार्थकता पाउनेमा जोड दिए । 

 

तालिममा सहभागी सर्लाहीका सामुदायिक विद्यालयका प्रधानाध्यापक बद्रीनारायण मिश्रले पाँचदिने तालिम महत्वपूर्ण भएको बताए  । उनले यस पाँच दिनमा धेरै थोक सिकिएको बताए । साथै उनले आफ्नो विद्यालयमा यस विषयमा अन्य शिक्षक र विद्यार्थीलाई सुसुचित गर्ने प्रतिबद्धतासमत व्यक्त गरे ।

 

नेपाल परिवार नियोजन संघको सभाहलमा भदौ २८ गतेदेखि सुरु भएको यौनिक शिक्षासम्बन्धी तालिमको समापन समारोहमा सर्लाहीका २० जना शिक्षकहरुको सहभागिता रहेको थियो । 

 

कार्यक्रममा आर्थिक सहयोग जुटाएको एक गैरसरकारी संस्था यूएनएफपीएकी कामलता बज्रचार्यले अबको दिनमा गाउँ मै गएर विद्यालय अनुगमन गर्ने बताइन् । 

 

सर्लाहीका १० ओटा विद्यालयबाट प्रधानाध्यापकसहित र जनसंख्या तथा वातावरण पढाउने शिक्षक समावेश भएका थिए । तालिममा सहभागी भएकाहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । तालिम समापनपश्चात् सर्लाहीमा एक्सन प्लान बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्