जनप्रतिनिधिले किन कुट्छन् कर्मचारी ?



काठमाडौं : जनप्रतिनिधिले नै कानुन हातमा लिएपछि त्यसको कार्यान्वयन कसले गर्ला ? प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव कानुन कार्यान्वयन होइन, कानुन हातमा लिएर जनप्रतिनिधिको दायित्वबाटै विमुख भएका छन्। मन्न्त्री यादवले आइतबार उद्योग, वन, पर्यटन तथा वातावरण सचिव विद्यानाथ झालाई हातपात गरे।

यसरी कानुन हातमा लिएर कर्मचारीमाथि आक्रमण गर्ने विजय पहिलो व्यक्ति भने होइनन्। यसअघि पनि दुई मन्त्रीले यसै गरी कर्मचारीमाथि कुटपिट गरेका थिए।

२०६६ कात्तिक २४ मा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले आफूलाई लिन सिमरा विमानस्थलमा पुरानो गाडी पठाएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीमाथि हातपात गरेकी थिइन्।

२०६४ असार ४ मा तत्कालीन वनमन्त्री मातृका यादवले ललितपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई मन्त्रालयको शौचालयमा थुनिदिएका थिए। ललितपुरमा बिनाइजाजत सञ्चालित ढुंगाखानीको विषयलाई लिएर यादवले घिमिरेमाथि अभद्र व्यवहार गरेका थिए।

केन्द्र र प्रदेशमा मात्र होइन, यस्ता घटनामा स्थानीय तहसम्म पुगेको छ। नगरपालिका र गाउँपालिकाका मेयर–उपमेयर तथा अध्यक्ष–उपाध्यक्षले कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा लेखपालमाथि हातपात गरेको घटना पनि सार्वजनिक हुने गरेका छन्।

गत साउनमा सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले जिन्सी शाखा प्रमुख बलिराम यादवलाई आफ्नै कार्यकक्षमा थप्पड हाने। नगरपालिकाले खरिद गरेको जेसिबीका विषयमा पासवनले यादवलाई कुटेका थिए।

यादवले बिलबेगर सामानको दाखिला गर्न नमानेपछि कुटाइ खाएका थिए। यस्तै महोत्तरीको भगंहा नगरपालिकाका मेयर सञ्जीव साहले गत असोजमा हिसाबकिताब नमिलाएको भन्दै लेखा अधिकृत पवनकुमार अधिकारीलाई कुटेका थिए।

गत पुसमा लमजुङ सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कुटिए थिए। उनलाई सत्तारूढ पार्टी निकट युवा संघ सुन्दरबजार नगर कमिटीका उपाध्यक्ष नवीन श्रेष्ठले कुटपिट गरेका थिए।

पूर्वप्रशासकहरूका अनुसार २०४६ सालको परिवर्तनपछि कर्मचारीप्रति जनप्रतिनिधिले हेर्ने दृष्टिकोण नकारात्मक छ। जनप्रतिनिधिको यस्तो दृष्टिकोणमा परिवर्तन आउनुपर्ने सुझाव उनीहरूको छ। कर्मचारी पनि अनुशासनको सीमाभित्र रहनुपर्ने उनीहरूको भनाइ छ।

पूर्वगृह सचिव गोविन्द कुसुमले भने, ‘कर्मचारीप्रति राजनीतिज्ञहरूको सोच सकारात्मक भएको देखिन्न। त्यसमा पनि आफ्नो स्वार्थका बाधकहरूलाई पन्छाउन यस्ता घटना हुने गरेका छन्।’ उनले जनप्रतिनिधिमा राजनीतिक संस्कार विकास हुन नसकेको टिप्पणी गरे। पूर्वसचिव कुसुमले भने, ‘जनप्रतिनिधिहरूले कर्मचारीलाई कुट्नु भनेको राजनीतिक संस्कारको अभाव हो।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्