१८ वर्ष पुरानो लाउडा काण्ड अझै टुंगो लागेन, ९५ पटक पेसीमा



काठमाडौं  : १८ वर्ष पुरानो बहुचर्चित लाउडा विमान भाडा मुद्दा अहिलेसम्म किनारा लागेको छैन । ११ वर्षअघि सो मुद्दा सर्वोच्च पुगेपछि १२ जना प्रधानन्यायाधीश फेरिएका छन् । तर, मुद्दा किनारा लाग्ने टुंगो छैन ।

सर्वोच्चमा ९५ पटक पेसी तोकिए पनि २१ पटक पेसी नै हटाइएको छ । ७४ पटक इजलास तोकिएकोमा ३९ पटक हेर्न नभ्याइने र नमिल्ने सूचीमा राखियो । पक्ष र विपक्षले १५ पटक सुनुवाइ स्थगित गरे । २० पटक सुनुवाइ हुँदा सर्वोच्चले फाइलहरू मगाउनेलगायतका आदेश दिएको थियो ।

८५औँ पेसीमा ६ वैशाख ०७४ मा सर्वोच्चले फैसला दिन खोजेको थियो । तर, न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाबीच राय बाझिएपछि फैसला हुन सकेन । त्यसैले सो मुद्दा सर्वोच्चको पूर्ण (तीनजना न्यायाधीशको) इजलासमा पुगेको छ । त्यसयता १० पटक सुनुवाइ तोकिएको छ । तर, मुद्दा पैmसला हुन सकेको छैन ।

तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद गिरीको पालामा १३ माघ ०६४ मा लाउडा प्रकरण सर्वोच्चमा प्रवेश गरेको हो । त्यसयता मीनबहादुर रायमाझी, अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्रले प्रधानन्यायाधीशको रूपमा अवकाश पाइसकेका छन् । दीपकराज जोशी कामु प्रधानन्यायाधीश हुँदा पनि तीनपटक पेसी तोकिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्