प्रदेश २ मा महिला हिंसाको कहाली लाग्दो तस्वीर



जनकपुर : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको धनुषास्थित औरही गाउँपालिका वडा नम्बर २ मा परिवारका सदस्यहरुले २२ वर्षीय बुहारीको घाँटी थिची हत्या गरेको घटना बाहिरिएकै दिन महिला हिंसाविरुद्ध शून्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रदेश सरकारले हिजो (सोमबार)बाट सुरक्षित बेटी अभियान शुरु गरेको छ ।

गत शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या गरियो । उनको हत्या आरोपमा ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीय सासु कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल पासवार र २० वर्षीय नन्द पुनिता पासवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

यता प्रदेश २ को बाराको कोल्हबी नगरपालिका–११ रामपुर्वामा स्थानीय १४ वर्षीया बालिकालाई बलात्कार गर्ने ५३ वर्षीय भारतीय साधुबाबा पक्राउ परे । भारतको राजस्थान प्रान्तको बुन्दी जिल्लाको पाटन चिन्ताग्राम घर भएका झण्ड बाबा रामेश्वर भनिने हरि नारायण शर्माले आइतबार राति कोही सदस्य नभएको मौकामा पुरी खान मन लागेको भन्दै बालिकाको घरमा पसरेर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताएका छन् ।

यो त केही प्रतिनिधि पत्र मात्र हुन् । यस्तो घटना प्रदेश २ मा प्रायः हुने गरेको देखिन्छ । प्रहरीबाट प्राप्त भएको तथ्यांक अनुसार कर्तव्य ज्यान अन्तर्गतको मुद्दामा कुटपिटबाट १७, घाँटी थिचि ८, पोष्टमार्टम नगरि मृतकको लाश दबाएको १, घाँटी रेटि १, विष खुवाएर २, झुण्डाएर २, पुलमा ठोक्कएर १, एसिड प्रहारबाट एक, रिस आवेगमा तीन, धारिलो हतियार प्रयोग गरी ३, आगो लगाइ जलाई २, इट्टा प्रहार गरी १ जना गरी जम्मा ९४ जनाको हत्या भयो । जसमा ५३ जना महिला र ४१ जना बालिका रहेका छन् ।

त्यसोत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा गत वर्ष ‘बेटी बढाऊ बेटी बचाऊ’ अभियान शुरु गरे । निकै तामझामका साथ शुरु गरिएको यो अभियान लक्ष्य हासिल गर्ने तर्फभन्दा प्रचारप्रसारमै वितेको देखिन्छ । यो अभियानको लक्ष्य के थियो परिणाम के आयो भन्ने प्रश्नको उत्तर खोजीरहेको बेला फेरी अर्को अभियान शुरु भएको छ । अहिले शुरु गरिएको अभियान पनि बीचमै अलपत्र नहोस् भन्ने सरोकारवालाको आग्रह छ ।

गत आर्थिक वर्षमा प्रदेश २ को आठ जिल्लामा महिला तथा बालबालिकामाथि भएका हिंसाका घटना हेर्दा निकै कहाली लाग्दो तस्वीर देखिन्छ । महिला संशक्तिकरण तथा हिंसा विरुद्धको समाज निर्माण गर्ने भन्दै चुनावताका ठूलो–ठूलो स्वरका साथ दल र दलका नेताहरुले वाचा गरेको थिए । तर, ति वाचा कागजमै सिमित भए । कतिपय चलाइएका अभियानहरु पनि प्रभावकारी बन्न सकेका छैनन् । त्यस्तै ति अभियानहरु लक्षित वर्गसम्म पुग्न नसकेको सरोकारवालाहरुको बुझाइ छ ।

मुख्यमन्त्री राउतको यो अभियान चुक्दै गर्दा फेरी महिला हिंसाविरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हिजो (मंगलबार) अर्थात माघ २० गतेदेखि सुरक्षित बेटी अभियान हुरू गरेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्रकुमार यादवको अध्यक्षता तथा प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच सुरक्षित बेटी अभियान सुरू गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको योजना महाशाखा प्रमुख टिकामणि न्यौपानेले जानकारी दिए अनुसार सुरक्षित बेटी अभियानले महिला हिंसाविरुद्ध हुने सबै प्रकारको हिंसा, शोषण, विभेद र दुव्र्यवहारविरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गर्नेछ । उनका अनुसार यस अभियानले व्यक्तिगत विकास, सशक्तिकरण र प्रगतिको मुख्य बाधक रहेको महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न, मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्न, लैङ्गिक विभेदरहित मर्यादित, न्यायपूर्ण, सुरक्षित, समतामुलक सभ्य समाजको स्थापनाका लागि पहल गर्ने छ ।

सुरक्षित बेटी अभियानको क्रममा प्रदेशस्तरमा एक संयोजक र जिल्लाहरुमा सामाजिक परिचालक खटाएर महिला हिंसाविरुद्धको घटना न्युनिकरणका लागि सहजिकरण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

सुरक्षित बेटी अभियानको आरम्भ गर्दै मुख्यमन्त्रि राउतले समाजको संकुुचित सोच र बनोट बदल्न जरुरी रहेको बताएका छन् । हामीले घरमा छोरी जन्मिँदै घरको बोझ ठान्दै दुःखी हुने गरेकाले यस्ता संस्कारलाई त्याग्नुपर्ने आवश्यकता रहेको बताए । समाजमा व्याप्त यस्ता कुरीतिलाई आफ्नै घरबाट त्याग्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रि सरोज सिंह कुशवाहाले आर्थिक वर्ष २०७६–७७ लाई लैङ्गिक हिंसाविरुद्धको अभियानको रुपमा राखिएकोले गर्दा पनि प्रदेश २ सरकारले सुरक्षित बेटी अभियानको थालनी गरेको बताए ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि यादवले प्रदेश २ सरकारलाई अब महिला हिंसा सहनीय नहुने बताए । हाम्रो समाजमा अहिले महिला गर्भाधारण भएपछि भ्रुण पहिचान गरेर गर्भपतन गराउँने गरिएको बताए ।

समाजमा महिलाहरुमाथि निकै विभेद हुँदै आएकाले गर्दा अब देशकै ५० प्रतिशत हिंसा ओगटेका महिलाहरुको सम्मान स्वरुप प्रदेश २ सरकारले गर्ने पदपूर्तिमा ५० प्रतिशत महिलाको सिट आरक्षण गरिएको कानुनमन्त्रि यादवले बताए । विभेदरहित समतामुलक समाज निमार्णका लागि सुरक्षित बेटी अभियानको आरम्भ गरिएको उनले जानकारी दिए ।

यस्तो छ महिला हिंसा सम्बन्धी तथ्यांक
त्यस्तै सामाजिक अवस्था तथा पारिवारिक तनावका कारण प्रदेश २ मा आत्महत्या गर्ने महिलाको संख्या पनि बढेको छ ।

तथ्यांक अनुसार पानीमा हाम फालेर १, पोखरीमा डुबी १, जंगली हात्तिले कुल्चेर १, घाँटी थिचि १, वेवारिसे २ गरी जम्मा ६ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्षमा मात्रै १ सय ४८ जना महिला तथा ४४ जना बालिका गरि १ सय ९२ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

त्यस्तै ७७ जना महिला, २० जना बालिका गरि ९७ जनाले विष सेवन गरि आत्महत्या गरेका छन् भने ८ जनाले आगो लगाई आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७५–०७६ मा महिला सम्बन्धी घटना विवरण समेटेर २ नम्बर प्रदेश प्रहरी कार्यालयले आफ्ना मातहत अन्तर्गतका ८ जिल्लाहरुमा ज्यान सम्बन्धी, कतव्र्य ज्यान, आत्महत्या, जवरजस्ती गरी कर्तव्य ज्यानका ५ सय १७ वटा मुद्दा दर्ता भएको जनाएको छ । जसमा ४ सय जना महिला र १ सय ४० जना बालिका पीडित भएको रेकर्ड छ । यी मध्ये ५ सय ४० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै प्रदेश २ मा १६ महिला र ९६ जना बालिका माथि जवरजस्ती करणीको २ सय १२ वटा मुद्दा दर्ता भएको छ ।

जवरजस्ती करणीको प्रयास भएको आधारमा ९३ वटा मुद्दा दर्ता भएको छ । जसमा ५६ जना महिला तथा ३७ जना बालिका रहेका छन् ।

त्यस्तै बोक्सिको आरोपमा १७ वटा मुद्दा दर्ता भएको छ । प्रदेश २मा मात्र १७ जना महिलाले बोक्सिको आरोपमा हिंसा सहन बाध्य पारिएको तथ्यांकले देखाउँछ ।

प्रहरीसम्म पुगेका घरेलु हिंसा सम्बन्धी घटना हेर्दा अझ आङ सिरिङ हुन्छ ।

आफ्नै परिवारबाट हिंसामा ३ हजार १ सय ८५ वटा उजुरी प्रहरी समक्ष परेको छ । जसमध्ये मिलापत्र भई १ हजार २ सय ८७ वटा उजुरी फछ्र्यौट भइसकेका छन् । भने १ हजार ८ सय ९८ उजुरी फछ्र्यौट हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्