कार्गो विमान दुर्घटनामा १५ जनाको मृत्यु



तेहरान : इरानको राजधानी तेहराननजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा ठोक्किन पुगेको थियो । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ ।

इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक फ्लाइट इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको थियो । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । स्थानीय सञ्चारमाध्यमले सो कार्गो विमानले किर्गिजस्तानको राजधानी बिश्केकबाट मासु ओसार्दै गर्दा दुर्घटनामा परेको बताएका छन् ।

इरानको नागरिक उड्डयन निकायका एक प्रवक्ताले विमान किर्गिजस्तानको भएको बताएका छन् । तर किर्गिजस्तानको मानास विमानस्थलले सो विमान इरानको पायाम एयरबाट सञ्चालनमा रहेको बताएको छ । काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने सो विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरान रेड क्रिसेण्ट सोसाइटीका प्रमुख नासिर कार्खसाजलाई उद्धृत गरी आईएसएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्