कम्पनी रजिस्ट्रार कार्यालय: बिचौलियाको बोलवाला, रिसाहा कर्मचारी, निरीह सेवाग्राही



काठमाडौं: विहान ११ बजे। त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रार कार्यालयको परिसरमा टोलाइरेका थिए, रौतहटका श्याम साह (२५)। उनी दुई दिनदेखि नयाँ कम्पनी दर्ता गर्न कार्यालय धाइरहेका थिए। कलंकीको एक लजमा बस्दै आएका उनको अझै काम सुरु भएको थिएन। फाइल बोकेर परिसरमा टोलाइरहेका उनले भने, ‘कर्मचारीलाई सोध्यो, जवाफै दिँदैनन्।’

दुई दिनमा उनले किसिमकिसिमका मान्छे भेटे। कानुन व्यवसायी भेटे। बिचौलिया भेटे। आफूजस्तै अनभिज्ञ सेवाग्राही भेटे। तर, कसैको सहारा नलिइ आफै काम गर्न सघि सरे। अन्ततः हात लाग्यो शून्य। एकातिर काम बनेको छैन। अर्कोतिर लजमा बस्दाबस्दा पैसा सकिन लाग्यो। दुई दिनमा पनि काम सुरु नभएपछि निरास हुँदै उनले भने, ‘कामै सुरु भएको छैन। के गर्ने गर्ने ? ’

बाहिर श्यामजस्ता सयौं सेवाग्राही अलमलमा थिए। भित्र कर्मचारी भने कम्प्युटरमा फेसबुक चलाइरहेका थिए। कतै ठट्टा गरिरहेका थिए। कोठा नम्बर १०४ का एक कर्मचारी कम्युटरमा फेसबुक चलाइरहेका थिए। सोही कोठामा ‘भ्रष्टाचार कम्पनी लिमिटेड’ खोल्नेबारे छापिएको लेखमा हाँसोठट्टा र व्यंग्य चलिरहेको थियो। सहायक रजिस्ट्रार दीपक खनाल कानुन व्यवसायीसँग ठट्टा गर्दै थिए, छेउछाउमा उभिनेहरू त्यसैमा लय मिलाउँदै थिए।

पैसाको प्रसंग आउनासाथ व्यंग्य राष्ट्र बैंकको गर्भनरतर्फ मोडियो। एक कर्मचारी भन्दै थिए, ‘गर्भनरलाई पैसाको खाँचो पर्‍यो भने के गर्छन् होला ? ’ अर्का कर्मचारीले हाँस्दै थपे, ‘आफै छाप्छन् होला नि।’ छेउमै उभिएका कानुन व्यवसायीले थपे, ‘उनीहरूलाई छाप्ने गरी खाँचै छैन।’ हाँसोले गुन्जियो कोठा। सहायक रजिस्ट्रार खनालले हाँस्दै थपे, ‘अहिले पैसाको कसैलाई अभाव छैन। अभाव त रूपैयाँको मात्रै छ।’ सबै जना फेरि गलल्ल हाँसे। सेवाग्राही भने फाइल बोकेर जिल्ल परिरहेका थिए।

भुइँतलाको कोठा नम्बर १०५। सहायक रजिस्ट्रार सेवाग्राहीसँग रुखो स्वरमा बोलिरहेका थिए। उनकै छेउको कुनामा कम्प्युटर ‘अन’ थियो। तर कम्प्युटर–कुर्सीमा कोही थिएन। त्यही मौका छोपी एक युवती कम्प्युटर चलाउन थालिन्। उनी सेवाग्राही थिइनन्। कानुन व्यवसायीको कार्ड पनि भिरेकी थिइनन्। यताउती आँखा डुलाउँदै कम्प्युटर चलाइरहिन्। उनी फाइल हेर्थिन्, अनि किबोर्ड थिच्थिन्। करिब २० मिनेट कम्प्युटर चलाएर काम सकाएर बाहिरिइन्। सँगै रहेका सहायक रजिस्ट्रारले एक शब्द बोलेनन्। सेवाग्राहीसँग रुखो आवाजमा बोल्ने उनले ती युवतीले कम्प्युटर चलाएको नदेखेझैं गरिरहे। अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्