माघे संक्रान्तिमा नुवाकोटमा ५१ हल गोरु जुधाइँदै



नुवाकोट : माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटमा यस वर्ष ५१ हल गोरु जुधाउन लागिएको छ। विशेषगरी जिल्लाको तारुका,  बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा यसवर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टि छापमा पनि गोरु जुधाउन लागिएको आयोजकले जानकारी दिएको छ। 

“तारुकाको पौरख नेपालको गौरव” भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २३ हल गोरु जुधाउन लागिएको छ। मेला सञ्चालन गर्नको लागि गर्नुपर्ने सबै तयारी पूरा भइसकेको माघेसंक्रान्ति गोरुजुधाई संरक्षण सस्थाका सचिव केशव रिमालले बताए।

मेला स्थलसम्म सवारी साधनसहित पुग्ने सहभागीहरुको साधन पार्किङ गर्ने स्थलको निर्माण गरिनुको साथै सहभागीहरुको लागि स्वच्छ खानेपानी, सुपथ मूल्यमा खाना तथा खाजाको व्यवस्था गरिएको तार्केश्वर—२ का वडा अध्यक्ष समरबहादुर आलेमगरले बताए।

मेलामा हुने सहभागीलाई शौचालयकोे प्रबन्ध मिलाइनुको साथै तारुकाघाटदेखि मेलास्थल सम्मको सडकलाई धुलोमुक्त सडक बनाउन ट्याङ्करमार्फत पानी छ्याप्ने व्यवस्था गरिएको वडाध्यक्ष आलेमगरले बताए। उनका अनुसार तारुकाको गोरु जुधाई मेलाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्दैछन्। 

बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनको लागि केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउँदै आएका छन्।

बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलार्ई मनोरञ्जन दिन जुधाइएको गोरुलाई स्थानीयवासीले निरन्तरता दिँदै अहिले संस्कृति, परम्परा र पर्यटन प्रबर्द्धनसंग जोडेर व्यवस्थित रुपमा निरन्तरता दिँदै आएका छन्।

यस्तै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० (नुवाकोट र रसुवाको संगम स्थल) बेत्रावतीमा ८ हल गोरु जुधाउनको लागि दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ।

विक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीचको भएको व्यापार सन्धीको खुसियालीमा आयोजना गरिएको गोरु जुधाई मेलालाई संस्कृति र परम्परा धान्नको लागि निरन्तरता दिँदै आएको छ।

यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेभञ्जयाङ (पिपलडाडा) मा ८ हल गोरु जुधाइने भएको छ। पञ्चकन्यामा रहेको नवप्रतिभा युवा समूहले आयोजना गर्न लागेको गोरु जुधाइको लागि ८ हल गोरु पालक किसानहरुले नाम दर्ता गराएको आयोजक समूहका अध्यक्ष शिवहरी विष्टले बताएका छन्। 

परापूर्वकालदेखि चल्दै आएको गोरु जुधाई मेलालाई निरन्तरता दिन हरेक वर्षको माघ १ गते २०७२ सालदेखि गोरु जुधाई प्रतियोगिता नवप्रतिभा युवा समूहले आयोजना गर्दै आएको अध्यक्ष विष्टले बताए। 

यस्तै, कृषि पर्यटन समृद्धि र उत्थान, ऐतिहासिक गोरु जुधाई शिवपुरीको पहिचान भन्ने नारासहित महाकाली कृषि सहकारी सस्था लिमिटेडले आयोजना गरेको गोरु जुधाई कार्यक्रममा ६ हल गोरु दर्ता भएको छ।

पहिलेदेखि नै माघ १ गते गोरु जुधाइँदै आएकोमा पछिल्लो समय रोकिन पुगेकोले त्यसलाई निरन्तरता दिन लागिएको अध्यक्ष मधुप्रसाद पोखरेलले बताए। उनको अनुसार गोरु जुधाई प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई ३ हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ। 

यस्तै लिखु गाउँपालिका वडा नम्बर ३ कट्टिछापमा रहेको मगर संघले हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने नारा सहित गोरु जुधाई कार्यक्रम गर्न लागेको छ। गोरु जुधाउनको लागि ६ हल गोरु दर्ता भएको र तयारी पूरा भएको राजु जर्गा मगरले बताए।

प्रतिक्रिया दिनुहोस्