
एजेन्सी : इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सलाई सिटीले सहजै पराजित गरेको हो । खेलको १०औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा वल्भ्स १० खेलाडीमा समेटियो । त्यसपछि वल्भ्स कमजोर बन्दा सिटीले यसको प्रत्यक्ष फाइदा उठायो ।
३९औं मिनेटमा पाएको पेनाल्टीको मौकालाई जेससले सदुपयोग गरे । यो गोलसँगै सिटीले पहिलो हाफमा २–० को अग्रता बनायो ।
खेलको ७८औं मिनेटमा कोनोर कोडीले सिटीलाई आत्मघाती गोल उपहार दिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र सिटी ३–० ले विजयी
भयो ।
जितसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी चारमा झारेको छ । सिटीको २२ खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको लिभरपलुको ५७ अंक रहेको छ । सिटीसँग पराजित वल्भ्स २९ अंक जोडेर ११औं स्थानमा छ ।