दुगर ग्रुपमा सवारी दुर्घटना न्यूनीकरणबारे ट्राफिक प्रहरीको सचेतना कार्यक्रम



बारा : जितपुरसिमरा स्थित दुगर ग्रुपमा मानवीयक्षति कम गर्न तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेकोे छ ।

प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको आयोजनामा दुगर ग्रुपका उपाध्यक्ष वेद प्रकाश शर्मा र एजिएम अजित मिश्राको बिशेष सहयोगमा ट्राफिक सम्पन्धी सचेतना मुलक कार्यक्रम्म सम्पन्न भएको हो ।

दुगर ग्रुपका कर्मचारीको उपस्तिथिमा प्रदेश २ का प्रहरी उपरीक्षक श्याम कुमार महतोले ट्राफिक नियमको पालना तथा सवारी दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा कर्मचारीलाई जानकारी गराएका थिए ।

अकालमै कसैले ट्राफिक समस्याका कारण ज्यान गुमाउन नपरोस भन्ने मुख्य उदेश्यले सचेतना कार्यक्रमको आयोजना गरिएको ट्राफिक प्रहरी उपरीक्षक महतोले बताए । उनले भने, ‘ट्राफिक नियम उलंघन गरेकै कारण प्रत्येक वर्ष ५ सय जनाले अकालमै ज्यान गुमाउनु परेको छ त्यसैले ट्राफिक नियम पालना गरि आफू र अरुलाई सुरक्षित बनाउन सहयोगी भुमिका निर्वाह गर्नु पर्छ ।’
कार्यक्रममा उनले, ग्रुपका कर्मचारीहरुलाई दुर्घटना रोक्नलाई सवारीचालकले ट्राफिक नियम पालना गर्नुपर्ने, मापसे गरि सवारीसाधन नचलाउने, जथाभावी सवारी पार्किङ्ग नगर्ने, मोटरसाइकल चालकले हेलमेट र जुत्ता अनिवार्य लगाउने लगायतका ट्राफिक नियमबारे जानकारी गराए ।

बारा र पर्सामा सबै भन्दा बढी दुर्घटना हुने गरेको तथ्यांक सार्वजनिक गर्दै, उनले भने, यस जिल्लामा ३८ प्रतिशत भन्दा बढी ट्राफिक नियम उलंघनबाट दुर्घटना हुने गरेकोले ट्राफिक नियम उलंघन गरेको भेटिएमा हदैसम्मको कार्वाही गरिने चेतावनी समेत दिए ।

कार्यक्रममा दुगर ग्रुपका उपाध्यक्ष वेद प्रकाश शर्माले सवारी अनुमति पत्र भएका आफ्ना कर्मचारीलाई सवारी चलाउन अनुमती दिएका छौं, र कम्पनीको नाममा रहेको सवारी साधन पनि सवारी अनुमति पत्र भएका कर्मचारीलाई मात्र चलाउने स्वीकृति दिएको बताए ।

कार्यक्रममा बाराका प्रहरी निरीक्षक सुरेश थापा, पर्सा ट्राफिक प्रहरीका प्रहरी निरीक्षक रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्