सबैको प्रिय पर्व माघे संक्रान्ति



माघे संक्रान्तिलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । यसलाई फरक–फरक समुदायमा भिन्न नामले पुकारिन्छ । मैथिल र थारू समुदायमा यसलाई नयाँ वर्षका रूपमा मनाउने गरिन्छ । माघ १ गते मनाइने यस पर्वलाई येले दुंगका रूपमा समेत लिइन्छ । थारू समुदायमा सुँगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । नेवारी समुदायमा भने घिउ र चाकु संल्हु नामले माघे संक्रान्ति मनाइन्छ ।

उनीहरूले चाकुमा तिल मिसाएर बनाइएको लड्डु खान्छन् । साथै, यो दिन दान दिने चलन पनि छ । माघीको दिन काभ्रेको पनौतीमा मकर मेला लाग्छ । उक्त मेला लिच्छवीकालीन राजा मानदेवको पालादेखि सुरु भएको मानिन्छ ।माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । तारो हान्ने खेल यो समुदायमा प्रचलित छ । तीन दिनसम्म लगातार पितृ र चेलीबेटीको पूजासमेत गरिन्छ । साथै, क्षेत्री, बाहुन, राई, लिम्बू, गुरुङ आदि सबै समुदायले माघे संक्रान्तिलाई आ–आफ्नो परम्पराअनुसार मनाउने गर्छन् ।

 धार्मिक विश्वास

भीष्म पितामहलाई इच्छामृत्युको वरदान थियो । युद्ध गर्ने क्रममा अर्जुनका वाणले उनको शरीरमा सर्वत्र छेदन भयो । यसरी भीष्म पितामहको इच्छामृत्यु माघे संक्रान्तिकै दिन भएको महाभारतमा उल्लेख छ । यसर्थ, आजको दिनलाई पवित्र मानी विभिन्न घाट, नदी तथा पवित्र स्थलमा स्नान गर्ने चलन छ । माघी नुहाइसकेपछि सुकेको तिलको बोट बालेर आगो तापेमा पापमोचन हुने विश्वास छ ।

 माघीमा यस्ता खानेकुरा

माघे संक्रान्तिका दिन घिउ, तरुल, चाकु, खिचडी आदि परिकार खाइने प्रचलन छ । माघी नुहाइसकेपछि घिउ, चाकु, तिलको लड्डु, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सीदा दान गरेमा विशेष फल प्राप्त हुने मान्यता छ । माघी पर्वलाई धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत हेरिन्छ । यस दिन स्नान वा घर–आँगनको सरसफाइ नगरे सात जन्मसम्म रोगी र निर्धन भइने किंवदन्ती छ ।

 किन खाइन्छ तिलको लड्डु र खिचडी ?

माघे संक्रान्तिमा तिलको लड्डु, घिउ, चाकु, तरुल र खिचडी खाने प्रचलन छ । यसरी विशेष खानेकुरा खानुका पछाडि विभिन्न किंवदन्ती पाइन्छ । श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार भगवान् सूर्यदेवमा क्रोध उत्पन्न भयो । उनले क्रोधका कारण पुत्र शनिदेवको कुम्भ जलाइदिए । यसकारण शनिदेवले धेरै दुःख पाए । उनको राशि कुम्भ पूरै जलिसकेकाले उनीसँग कालो तिल मात्रै बाँकी रह्यो । यसर्थ, शनिदेवले पिता सूर्यदेवलाई खुसी पार्नका लागि कालो तिलले पूजा आरधना गरे ।

त्यो माघे संक्रान्तिको दिन थियो । पछि सूर्यदेव प्रसन्न भए र शनिको घर मकर राशिमा प्रवेश गराई धनधान्यले पूर्ण हुने वरदान दिए । यसरी मकर संक्रान्तिका दिन कालो तिलको विशेष महत्व हुन थालेको हो ।

पौराणिक कथाहरूमा उल्लेख भएअनुसार खिचडी भगवान् शिवले आविष्कार गरेका थिए । शिवका अवतार मानिने गोरखनाथ बाबाले सजिलोका लागि आफ्ना सैनिकहरूलाई खिचडी बनाउन लगाएका थिए । यसरी पकाउन सजिलो, स्वादिष्ट हुने तथा शरीरलाई ऊर्जासमेत दिने भएकाले यसलाई विशेष रूपले खान थालियो ।

 वैज्ञानिक कारण

माघीमा खाइने खाद्यपदार्थ आयुर्वेदसँगै चिकित्साशास्त्रमा पनि स्वास्थ्यका लागि उपयोगी मानिन्छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढ्ने गर्छ । मास हालेर पकाइएको तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त भइन्छ । साथै, छालासम्बन्धी रोगहरूबाट समेत राहत मिल्छ ।  सत्यमोहन जोशी संस्कृतिविद्/ नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्