व्यवस्था बदलियो, सहिद परिवारको अवस्था उस्तै



 ठिक ३५ वर्षअघि अर्थात् २०४० सालको माघे संक्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा एउटा निर्मम घटना भयो । तत्कालिन पञ्चायती शासनविरुद्ध गाउँलेले आयोजना गरेको साँस्कृतिक कार्यक्रममाथि सांघातिक हमला भयो । तत्कालिन प्रशासनले गरेको हमलामा परी स्थानीय दुई युवा इले र वीरे थामीको मृत्यु भयो ।

नेपाली कम्युनिष्ट राजनीतिक आन्दोलनमा पिस्कर काण्डलाई निकै महत्वका साथ लिने गरिन्छ । पिस्करका नागरिकले दिएको बलिदानीलगायत विभिन्न आन्दोलनको बलमा देशमा राजनीतिक परिवर्तन सम्भव भयो । तर, पिस्करबासी र सहिद परिवारको स्थितिमा खासै परिवर्तन आएन । समयसँगै हुने औसत परिवर्तनभन्दा पिस्करबासीले कुनै उल्लेख्य परिवर्तनको अनुभूत गर्न पाएका छैनन् । सहिद परिवारको आँखामा अझै आँशु ओभाएको छैन । 

पिस्कर र पिस्कर–काण्डबारे

गरिबी, अभाव, रोग, भोक, अशिक्षाजस्ता मार्मिक पीडा खप्दै समुन्नति र विकासको प्यासी बनेर बाँचिरहेको दुर्गम गाउँ हो पिस्कर । सिन्धुपाल्चोकको प्रमुख व्यापारिक केन्द्र बाह्रबिसेबाट करिब ३ घण्टाको हिडाईपछि पिस्कर पुगिन्छ । शोषण, उत्पीडन, अन्याय र अत्याचारको जरो किलो उखेल्नका लागि ३५ वर्षअघि नै ब्युँझिएको यो गाउँले परिवर्तन र विकास पाउन सकेको छ भने केवल मोटर नगुड्ने भत्किएको सडक र आप्mनो आयले नधान्ने बिजुली पाएको छ । 

२०४० सालमा जन्मिएकाहरु अहिले युवा भइसकेका छन् । तर, ती युवाहरु रोजीरोटीको खोजीमा अर्काको भारी बोक्ने, घर बनाउने, पहरा फोर्ने जस्ता कामकोे खोजीमा गाउँ–गाउँ भौंतारिरहन्छन् सँधैभरि ! यो ३५ वर्षको अन्तरालमा काठमाडौंले मात्र होइन, बा¥हविसे, चरिकोट र लामोसाँघुले समेत काँचुली फेरिसकेको छ । तर पिस्करको हविगत उस्तै छ ।

राजनीति गर्नेका लागि, भाषण गर्नेका लागि, संगठन निर्माण गर्न हुल जम्मा गर्नेको लागि, भोट माग्ने र चुनाव जित्नेहरुको लागि प्यारो शब्द बन्यो पिस्कर ! झापाको गरामुनिदेखि कञ्चनपुरको चाँदनीसम्म पिस्करका गाथाहरु सुनाइए । सहिदहरुको सम्मानको नाममा मौनधारण गरिए, श्रद्धाञ्जली चढाइए । तर, पिस्करको स्वरुप फेर्ने न खाका बन्न सक्यो, न सहिदको सपनाको सार्थक सम्मानको योजना र कार्यक्रम बन्न सक्यो । सोझासीधा थामी जातिले राजनीतिको झोला बोकेरै आप्mनो केश फुलाए । पार्टीको झण्डा बोकेरै आपूmलाई बुढो बनाए । समता, समानता र शोषणरहित न्यायपूर्ण समाज निर्माणको अभियानकर्ता बनेर सिङ्गो जिन्दगी बिताउँदा पनि उनीहरुको रित्तो थालमा एक गाँस भात पर्न सकेन, रित्तो पेट छाम्न सकेन, कठ्याङ्ग्रिने जाडोमा पनि एउटा टालो बन्न सकेन उनीहरुको राजनीति ।

पिस्कर हत्याकाण्डका मूल नाइके भनिएका  पशुपति शम्सेर राणालाई सहिदको आलो रगतले पोतिएको कोट लगाएर पटक–पटक सिंहदरबार छिर्ने सौभाग्य सिन्धुपाल्चोकले नै दिएको छ । पिस्करलाई नै युनिभर्सिटी बनाएर राजनीतिका पण्डित बन्न सफल माधव पौडेललाई ललितपुर जिल्लाको सभापति बनायोे । त्यस्तै पिस्करको जगमा उभिएर राजनीतिक यात्राको आरम्भ गरेका अमृतकुमार बोहरालाई सांसद, मन्त्री र राष्ट्रिय व्यक्तित्वको रुपमा स्थापित गरिसकेको छ । तर, पिस्कर अझै दिल खोलेर हाँस्न सकेको छैन ।

पिस्कर काण्डमा ज्यान बलिदान गर्ने इले र विरे त सहिदकोटीमा दहरिए नै, उनीहरुको पदचिन्ह पछ्याउने कोही निस्केन । पिस्करकाण्डको ३५ वर्षपछाडि पनि पिस्करबासी राष्ट्रको लागि रगत बगाउन तयार छन् तर त्यो प्रतिवद्धतासँगसँगै उनीहरुको प्रश्न छ, ‘अब केका लागि लड्ने ? लडाइपछिको व्यवस्थाले पिस्करलाई के दिन्छ ?’

यसरी भयो पिस्कर हत्याकाण्ड

    २०४० साल पुस ३० गते तत्कालीन नेकपा (माले)को राजनीतिक गतिविधिको केन्द्रबिन्दुमा थियो पिस्कर । माक्र्सवादी र लेनिनवादी दर्शनद्वारा प्रशिक्षित अगुवाहरुको अग्रसरतामा पिस्करको महादेवस्थानमा लाग्ने संक्रान्ति मेलाको उपयोग गरी जनतालाई संगठित र जागरुक बनाउने अभियान अन्तर्गत भएको सांस्कृतिक कार्यक्रमले पशुपति शम्सेरहरुको मुटु थर्काएको थियो । देवीजंग पाण्डेजस्ता स्थानीय सामन्त र निरंकुश पञ्चायती व्यवस्थामाथि धक्का दिएको थियो पिस्करले ।

तत्कालीन नेकपा (माले) र पिस्करवासीको सशक्तता र जागरणका कारण पञ्चायत र तानाशाही प्शासन तथा सरकारले आप्mनो वर्चश्वलाई जोगाइराख्न सुनियोजित ढंगले पिस्कर हत्याकाण्डको घटना घटाएका थिए । संक्रान्ति मानेडाँडामा जब जून लुक्न थाल्यो, अनि करिब २ सय जनाको सशस्त्र प्रहरीहरुले विभिन पोजमा न्यायप्रेमी समुदायमाथि अन्धाधुन्ध गोली चलाएका थिए । वीरबहादुर थामी घटनास्थलमै मारिए भने इले थामीको शव दावीखोलाको किनारमा स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्