मापदण्ड नपुगे पनि भूकम्पपीडितले सरकारी अनुदान पाउने



काठमाडौंः भूकम्पपछि बनेका सबै घरधनीले सरकारी अनुदान पाउने भएका छन् ।  मापदण्ड नपुगेको भए पनि भूकम्पपछि भूकम्पपीडितले बनाएका घरका लागि सरकारले अनुदान दिने तयारी गरेको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई पनि अनुदान दिने निर्णय गरी मन्त्रिपरिषद्ले निर्णय गरिसकेको जानकारी दिए । 

बैठकमा भूकम्प गएको झण्डै ३ वर्ष बित्दा पनि पुननिर्माणले पूर्णता नपाएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि ब्यक्त गरे ।  कामलाई चुस्त बनाउनका लागि पुननिर्माणको काम स्थानीय प्राविधिकबाट गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिए ।  बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिले सम्म भएका कामहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए । 

प्राधिकरणले हालसम्म तीन लाख ४७ हजार ८१७ घर पुनर्निर्माण भएको विवरण प्रस्तुत गरेको छ । भूकम्पले आठ लाख ११ हजार १५४ घरमा क्षति पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्