देवघाटमा संक्रान्ति नुहाउनेकाे घुइँचाे



चितवन : मकर संक्रान्तिका अवसरमा देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । भक्तजनले सोमबार साँझदेखि नै देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले देवघाटमा रात बिताएका छन् । उनीहरु स्नान गरेर फर्कने र अरु थप आउने क्रम जारी छ । देवघाटको बेनिका नदी तटीय क्षेत्र, चितवन र तनहुँतर्फका मठमन्दिर, आश्रम, बाटोघाटो सबै क्षेत्र भक्तजनले भरिएको पौडेलले बताए।

 

सोमबार साँझ देवघाटको महेश सन्यास आश्रममा मध्यरातसम्म मकर काव्ययामीनि कार्यक्रम भएको थियो । मंगलबार दिउँसो गलेश्वर आश्रमको वेदवेदान्त विद्यालयमा एक दिवसीय सन्त सम्मेलन हुँदैछ । 

विभिन्न उपसमिति गठन गरी व्यवस्थापनको काम गरिएकाले कुनै समस्या नभएको पौडेलले बताए। मंगलबार दिउँसोसम्ममा करिब पाँच लाख भक्तजनले देवघाटमा स्नान र दर्शन गर्ने अनुमान गरिएको पौडेलको भनाइ छ । नारायणगढ मुग्लिन सडकखण्डको अवस्थामा सुधार आएपछि यस वर्ष भक्तजनको चाप बढेको उनले बताए । 

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा व्रतबन्ध गर्नेको पनि भीड छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा दुवैतर्फ प्रहरी र स्वयंसेवकले आलोपालो सुरक्षा दिएका छन् । ठूलो सङ्ख्यामा भक्तजन आएकाले सुरक्षा प्रबन्ध चुस्त बनाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए ।

 

जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित आफू सोही क्षेत्रमा रहेको उनले जानकारी दिए । नदीमा स्नान गर्दा समस्या हुनसक्ने भन्दै सशस्त्र प्रहरीको विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए । 

मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम गए रातिदेखि नै चलिरहेको छ । देवघाटमा स्नान गरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र मानिएको छ ।

 

उत्तरायण सुरु भएपछि शुभ काम र यज्ञ गर्न शुभ मानिएको छ । उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्