चीनमा क्यानाडेली नागरिकलाई मृत्युदण्ड ताेकियो



एजेन्सी : लागुऔषध तस्करीको आरोपमा क्यानाडाका एक नागरिकलाई चीनमा सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ ।

 

उत्तर पूर्वी चीनमा रहेको डालियान इन्टरमिडिएट पिपल्स कोर्टले अपराधको प्रकृतिअनुसार चीनको अपराधसंहीताको आधारमा रोबर्ट ल्योड स्चेलेनबर्गलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी दिएको छ ।

 

रोबर्टले करीब २२२ किलोग्राम मेथामफेटामिन चीनबाट अस्ट्रेलिया पठाउन प्रमुख भूमिका खेलेको अदालतले जनाएको छ । चीनबाट थाइल्याण्ड भाग्ने प्रयास गर्दैगर्दा उनी दक्षिणी चीनबाट सन् २०१४ को डिसेम्बर १ मा पक्राउ परेका थिए ।

 

अदालतले रोबर्टलाई पुनरावेदनका लागि १० दिनको समय दिएको छ । रोबर्टको मुद्दाको सुनुवाईको क्रममा क्यानाडेली दूतावासका कर्मचारीहरु पनि अदालतमा उपस्थित थिए ।

 

चीनको पछिल्लो कदमले ओटोवा र बेइजिङबीच थप तनाव सृजना गर्ने विश्लेषकहरुको भनाई छ । चिनियाँ कम्पनी हुवावेका शीर्ष एक्जेक्युटिभलाई गत महिना भ्यानकुभरमा पक्राउ गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

 

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले चिनियाँ नेतृत्वको खुलेर आलोचना गर्दै आइरहेका छन् । मृत्युदण्डको सजाय सुनाएपछि क्यानाडाले चीनबारे ट्राभल एडभाइजरी नै जारी गरेको छ । एडभाइजरीमा चीनमा रहेका आफ्ना नागरिकहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।

 

चाइना डट ओआरजी डट सिएनका अनुसार सन् २००० यता चीनमा कम्तिमा १२ जना विदेशी लागुऔषध तस्करहरुलाई मृत्युदण्डको सजाय दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्