पश्चिमबाट हवाई रुट दिन भारतको आनाकानी



काठमाडौं : लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुग्न लागेको छ । तर भारतले पश्चिमतर्फबाट नयाँ हवाई रुट दिन आनाकानी गरेकाले विमानस्थल सञ्चालनमा अन्योल बढेको छ ।

 

यही अन्योल हटाउन यति बेला पर्यटन मन्त्री रवीन्द्र अधिकारी नेतृत्वको टोली भारतको मुम्बईतर्फ लागेको छ । टोलीमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पनि छन् ।

भारतमा हुन लागेको एभिएसन समिटमा भाग लिन भन्दै उडेको नेपाली प्रतिनिधिमण्डलको मुख्य लक्ष्य भारतसँग नयाँ एयर रुट लिने वातावरण तयार गर्नु रहेको बताइएको छ । चार वटा हवाई रुट थप्ने सहमतिबाट भारत नाट्कीय ढंगले पछि हटेपछि नेपाल सरकारले समाधान खोज्न विभिन्न ढंगले पहल अगाडि बढाएको छ । 

गत असार पहिलो साता काठमाडौंमा भएको वार्तामा महेन्द्रनगर, नेपालगन्ज, जनकपुर र विराटनगर रुट थप्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यसलाई ओली सरकारले भारतसँग सम्बन्ध थप सुमधुर भएको प्रमाणका रुपमा प्रस्तुत गरेको थियो ।

 

यो सहमतिअनुसार उडान सुरक्षा मूल्याकंन टुंगो लगाउन असोजमा नेपाली टोली दिल्ली गएको थियो । तर सेनाले मानेन भन्दै भारत हवाई रुट थप्ने सहमतिबाट एकाएक पछि हटेको थियो । प्राविधिक टोली फर्किएपछि सो विषय त्यसै अल्झिएर बसेको थियो । 

भारत जनकपुर र विराटनगरबाट एयर रुट दिन सहमत भएको छ तर नेपाललाई नेपालगन्ज र महेन्द्रनगरबाट तत्कालै हवाई रुट चाहिएको छ ।  हाल नेपालगन्ज र महेन्द्रनगरमध्ये एउटा मात्रै रुट भए पनि अत्यावश्यक छ ।

 

लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पश्चिमतर्फबाट आउने जहाजलाई ल्यान्डिङका लागि यी रुट सहज हुन्छन् । पोखरा अन्तर्ष्ट्रिय विमानस्थलका लागि पनि पश्चिमी रुट उपयोगी हुन्छ । नेपालमा अहिले चीनबाहेक अन्य देशबाट आउने विमानहरु सिमराको आकाश हुँदै भित्रिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्