प्रेम दिवसमा जोडी कस्दै वर्षा र संजोग



काठमाडौं : प्रेमजोडी वर्षा राउत र संजोग कोइरालाको विवाह प्रेम दिवस (भ्यालेन्टाइन डे) को दिन अर्थात् फागुन २ गते तय भएको छ । लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका वर्षा र संजोगले सोमबार आफ्नो आधिकारिक फेसबुक वालमा पोस्ट गरिएको एक कार्डबाट विवाहको मिति घोषणा गरेका छन् । 

लामो समयदेखि यी दुईजना विवाहको प्रश्नले हैरान थिए । अन्ततः यो प्रश्नबाट उनीहरुले अब छुटकारा पाउने भएका छन् । अभिनेत्रीहरुमा अहिले वर्षा हटकेक हुन् । उनको नयाँ फिल्म ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल ‘चौका दाउ’ प्रदर्शन भइरहेको छ ।

 

यस्तै ‘दाल भात तरकारी’ को भर्खरै छायांकन सकिएको छ । ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी उनको नाम अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीको सूचीमा अग्रणी स्थानमा आउँछ । 

संजोग पनि नेपाली फिल्मका अभिनेता हुन् । अभिनय करिअर सुखद नरहे पनि उनी आफ्नो निजी व्यवसायमा व्यस्त छन् । उनको पछिल्लो रिलिज फिल्म ‘कथा काठमाडौं’ हो । साथै, ‘उत्सव’, ‘छक्का पन्जा ३’, ‘बाजिगर’ लगायतका फिल्ममा पनि उनले काम गरेका छन् ।

 

वर्षा र संजोगको प्रेमको रथ चल्न थालेको ५ वर्ष बढी भइसकेको छ । पाँच वर्षअघि एक फिल्म अडिसनको क्रममा उनीहरुको पहिलो पटक भेट भएको थियो । 

विवाहको मिति उल्लेख भएको कार्ड दुवैले आआफ्नो फेसबुक वालमा एकसाथ साझेदारी गरेका छन् । विवाहको जानकारी दिएसँगै अहिले उनीहरुलाई सहकर्मी तथा चलचित्रकर्मीबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ । 

प्रतिक्रिया दिनुहोस्