सम्बन्ध विस्तार र संस्कृति जोगाउन पोखडी घाटमा खिचडी भोज



जनकपुर : माघे संक्रान्तिको अवसर पारेर मिथिलाको प्राचीन राजधानी जनकपुरमा मंगलबार पोखडी घाटमा खिचडी भोजको आयोजना गरिएको छ । विगत जस्तै यसवर्ष पनि जनकपुरस्थित जानकी चोकको अंगराज राज सर (अरगज्जा) पोखरी घाटमै भोजको आयोजना गरिएको हो ।

 

युवाहरुको अगुवाइमा स्थानीय जानकी चोकका पोखरी सरसफाइमा आवद्ध दुई दर्जन युवाको आयोजनामा भोजको आयोजना गरिएको अगुवा युवा शुशीलले द नेपालटपलाई जानकारी दिए ।

 

युवा अगुवा कर्णकाअनुसार यो भोज निरन्तर सात वर्षदेखि हुँदै आएको छ । मिथिलाको प्राचीन चलनअनुसार भाईचारा र संस्कृति जोगाइ राख्न प्रत्येक वर्ष भोज आयोजन हुँदै आएको कर्णको भनाई छ ।

 

भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकार खाने व्यवस्था मिलाइएको छ । भोजमा सामेल हुन स्थानीय राजनीतिकर्मी, उद्योगी, व्यापारी र युवा अगुवाका साथै समाजसेवीसमेतलाई आमन्त्रण गरिएको आयोजक युवाहरु बताउँछन्  ।

 

युवाहरुको खिचडी भोजको यो आयोजनाको मुक्त कण्ठले प्रशंसा गर्दै समाजसेवी विद्यानाथ साहले भने, 'युवाहरुको यो कार्य प्रशंसनीय छ । सम्बन्ध प्रगाढ र आफ्नो सांस्कृतिक पहिचानको लागि यो भन्दा राम्रो काम हुनै सक्दैन ।'

 

खिचडी भोज खाएर निस्किदै गर्दा एक प्रश्नमा कांग्रेस नेता प्रफुल्ल घिमिरे भन्छन्, 'यो भोज मात्र होइन, यो सम्बन्ध विस्तारको माध्यम पनि हो ।' यसको निरन्तरता हुनुपर्ने बताउँदै करातेका गुरु विरेन्द्र कर्ण भन्छन्, 'यो सद्भाव र मेलमिलापको अनुपम नमूना छ र यसलाई भेदभाव अन्त्य गर्नेसमेत अवसरको रुपमा लिन सकिन्छ ।'

 

युवाहरुको यो भोजको आयोजन हेर्न र भोज खान आउनेको संख्या पनि कम थिएन ।

प्रतिक्रिया दिनुहोस्