गिरिजा प्रसाद कोईराला गोल्डकपको फाईनलमा सप्तरी प्रवेश



वीरगन्ज : प्रदेश स्तरीय प्रथम गिरिजा प्रसाद कोईराला गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा सप्तरी पुगेको छ ।

वीरगन्जमा जारी सेमिफाईनल खेलमा महोत्तरीलाई २-१ गोलले पराजित गर्दै सप्तरी फुटबल संघ फाईनलमा पुगेको हो ।

आदर्शनगर रंगशालामा भएको खेलको ३३ औं मिनेटमा सिराहाका खेलाडीले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरेका थिए । ३३ औं मिनेटमा पाएको कर्नरमा सप्तरीका प्रवीण चौधरीले प्रहार गरेको बल महोत्तरीका मन्जित आलेले रोक्न खोज्दा आफ्नै गोलपोष्टभित्र छिरेपछि सप्तरीले खेलमा १-० को अग्रता लिएको थियो ।

पहिलो गोल भएको १ मिनेट नबित्दै ३४ औं मिनेटमा महोत्तरीका सोनाम आलेले गोल फर्काएर खेल १-१ गोलको बराबरीमा पुर्याएका थिए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोश्रो हाफमा सप्तरीले थप १ गोल गरेर नतिजा २-१ ले आफ्नो हातमा पारेको हो ।

सप्तरीका लागि दोश्रो गोल खेलको ५८ औं मिनेटमा सुशील यादवले गरेका थिए । महोत्तरीका लागि आत्मघाती गोल गरेका मन्जित भने इन्जुरी समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

जितसँगै फाइनलमा प्रवेश गरेको सप्तरीले उपाधिका लागि बिहीबार बारा र धनुषाबीच हुने दोश्रो सेमिफाइनल खेलको विजेता टिमसँग माघ २५ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले आयोजना गरेको प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाका जिल्ला फुटबल संघका टिम सहभागी छन् ।

माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार नगदसहित कप प्रदान गरिने आयोजक सस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्