विराटनगरमा पनि विश्व योगदिवस मनाइयो



विराटनगर : ‘शान्ति र समृद्धिका लागि योग’ नारासहित मंगलबार राष्ट्रिय योग दिवस मनाइँदैछ । 

 

विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा विराटनगर–१० स्थित सेवा केन्द्र भवनमा आयोजित कार्यक्रमकाबीच बोल्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रदेश १ की प्रमुख सञ्चालिका ब्रह्माकुमारी गीता दिदीले मानवजीवनका लागि योग अपरिहार्य रहेको बताइन् । 

 

उनले मानव जीवनलाई सफल बनाउन परमात्माबाट प्रवाह हुने उर्जा प्राप्त गर्न राजयोग गर्नु आवश्यक रहेको बताइन् । उनले योगको माध्यमबाट जीवनलाई परमात्मासँग जोड्न सकिए त्यसले मानवमात्र नभई सिंगो राष्ट्र र विश्वको कल्याण हुने बताइन् । 

 

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले समृद्धिका निम्ति शान्ति आवश्यक रहेको बताउदै योगले मानव जीवनलाई शान्तिको बाटोमा डोर्‍याउने गरेको विचार व्यक्त गरे ।

 

सेवा केन्द्रका प्रशिक्षक तुलसी पोखरेलले योगले असल नागरिक निर्माण गर्ने मात्र नभई शान्ति र समृद्धिका निम्ति आवश्यक शारिरीक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यता समेत प्रदान गर्ने गरेको उल्लेख गरे । 

 

कार्यक्रमका अन्य वक्ताहरुले अध्यात्मिक र भौतिक दुवै शक्तिलाई समायोजन गरेर अघि बढ्नसके मानव जीवन सार्थक हुने बताएका थिए । 

 

यसैबीच योगदिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयको अगुवाईमा निकालिएको प्रभातफेरीमा पतञ्जली योग समिति मोरङ, महिला पतञ्जली योग समिति, पतञ्जली योग महानगर समिति र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लगायतका संघसंस्थामा आवद्ध सदस्य तथा सर्वसाधारण सहभागी भएका थिए । प्रभातफेरीले नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । 

 

प्रभातफेरीका सहभागीले ‘योग गरौ निरोग रहौं’ लगायतका योग सम्बन्धि सन्देशमुलक नारा लगाएका थिए । 

 

स्थानीय जनआन्दोलन चोकबाट निकालिएको प्रभातफेरिले गुद्रीचोक, जलजलाचोकबाट मेनरोड हुँदै विराटनगर–२ शंकरपुरस्थित खुल्ला चौरमा पुगेर समापन भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्