औद्योगिक प्रदर्शनी फागुनमा



विराटनगर : प्रदेश नं १ को राजधानी विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक कृषि प्रदर्शनी हुने भएको छ ।

फागुन २ देखि १० सम्म हुने सो प्रदर्शनीमा नेपाल, भारत, बङ्लादेश, भूटान र पाकिस्तानका औद्योगिक तथा व्यापारिक सामग्री राखिने भएको छ ।

विराटनगर महानगरपालिका वडा नं २ स्थित विराट नर्सिङहोमको पूर्व खाली मैदानमा आयोजना हुने सो प्रदर्शनीका लागि कोठमाडौँका इभेन्ट म्यानेजमेन्ट प्रि ल्याब कम्पनीले प्रदर्शनी स्थलका लागि चाहिने ३३० भन्दाबढी वाटरप्रुफ कोठाको निर्माण गरिरहेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले विराट एक्स्पो-२०७६ नाम दिएको सो अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीमा ५० करोडभन्दा बढीको कारोवार हुने जानकारी दिए । गएको वर्षमा सोही स्थानमा भएको औद्योगिक प्रदर्शनीमा ३ लाखभन्दा बढी मानिसले अवलोकन गरेका थिए ।
प्रदर्शनी सम्पन्न गर्न करिब २ करोड खर्च हुन सक्ने अनुमान प्रदर्शनीका मिडिया संयोजक उद्योगी नन्दकिशोर राठीको भनाइ छ ।

प्रदर्शनीस्थलमा अन्तर्राष्ट्रियस्तरको ब्राण्डेड जुत्ताचप्पलदेखि स्थानीयस्तरबाट उत्पादित तेल र सेल तथा अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिसँग सम्बन्धित सामग्री, पाकिस्तानी छालाका सामान, गार्मेन्टका सामग्री, पूर्वी पहाडी जिल्लाका अल्लोका कपडा बिक्री हुने जनाइएको छ । प्रदर्शनीमा ३१५ वटा बिक्री कक्ष रहनेछ ।

विराटनगरमा विगतदेखि भइरहेको प्रदर्शनीलाई व्यवस्थित गर्न प्रदेश सरकारले उद्योग संगठन, विराटनगर महानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा २ अर्बभन्दा बढी लागतमा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने योजना अघि बढेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

औद्योगिक प्रदर्शनी केन्द्रका लागि उद्योग संगठन मोरङले २ बिघा र विराटनगर महानगरपालिकाले एक बिघा ७ कट्ठा जग्गा नेपाल आयल निगमको पूर्वतर्फ व्यवस्था भइसकेको छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग र व्यापारका आधारभूत आवश्यकतामा पर्ने प्रदर्शनीले उद्योग र व्यापार प्रवद्र्धन गर्न मद्दत पुग्ने विचार व्यक्त गरे ।

उनले प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगरमा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने घोषणा गरिसकेकाले उद्योगी एवं व्यापारी निकै उत्साहित भएको चर्चा गरे । रासस

प्रतिक्रिया दिनुहोस्