बमजनबारे आइरहेका समाचार झुटा : बोधी श्रवण धर्म संघ



काठमाडौं : बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’को नामले चर्चित आफ्ना धर्म गुरु रामबहादुर बमजनबारे आइरहेका समाचार झुटा भएको दाबी गरेको छ ।  

 

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आश्रममै आनीहरूलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको समाचार आइरहेकोमा आपत्ति जनाएको हो ।  आफ्ना गुरु बमजनले त्यस्ता कुनै पनि गतिविधि नगरेको संघको दाबी छ। 

 

करोडौं जनताको विश्वासको धरोहर आफ्ना गुरु बमजनमाथि चेलाहरूलाई हत्या, बलात्कार र वेपत्ता पारेको भनि आएको समाचार सत्य नरहेको संघका अध्यक्ष निलबहादुर थिङ्गले दावी गरे। 

 

उनले भूकम्पका बेला सम्पर्कमा नआएका आनीहरू बारे सम्बन्धित परिवारले खोजी गरेको विषयलाई लिएर आफ्ना गुरु बमजनमाथि आरोप लगाइएको भन्दै आपत्ति पनि जनाए। 

 

आफूहरूको आश्रमबाट कसैमाथि पनि हत्या, बलात्कारलगायतका घटना नभएको बमजन संरक्षक रहेको संघको दावी छ। संघले आफ्ना गुरु बमजनमाथि मुलुकमा सामाजिक सद्भाव बिथोल्न खोज्नेहरूले झूटा आरोप लगाएको भन्दै भ्रमणमा नपर्न पनि सबैलाई आह्वान गरेको छ। 

 

बमजनमाथि आश्रममै आफ्ना चेलाहरूलाई बलात्कार गरेको, वेपत्ता पारेको लगायतको आरोप लगाइएको छ भने त्यस सम्बन्धमा प्रहरीले पनि बाराको हलखोरिया, सिन्धुपाल्चोकको धापसारा आश्रममा अनुसन्धान सुरु गरेको छ। संघका अध्यक्ष थिङ्गले सो घटनाबारे सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारसँग माग गरे।

 

प्रतिक्रिया दिनुहोस्