गाउँमै मेहनतले मासिक २ लाख आम्दानी 



म्याग्दी : बेनी नगरपालिका वडा नं. १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत गर्नुका साथै मासु पसल सञ्चालन गरेर मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइ गर्दै आएका छन् ।

रत्नेचौरमा विनोद एन्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी मर्मतको काम गर्दै आएका २६ वर्षीय विन्दु थापाले यो कामबाट मासिक एक लाखभन्दा बढी कमाइ गरिरहेका थिए । 

चार महिनाअघि मासुपसल पनि थालेपछि उनको आम्दानी बढेर दुई लाख पुगेको छ । थापाले घरमै कुखुरा, बाख्रा र हाँस पनि पालेका छन् ।

 

खोरमा ५ सय कुखुरा, १५ वटा बाख्रा र हाँसको रेखदेखका साथै विद्युतीय सामान मर्मत तथा बिक्री गर्न भ्याइनभ्याइ हुने उनले बताए । थापालाई मासु पसलसमेत सुरु गरेपछि एकछिन पनि फुर्सद नहुने रत्नेचौरका अगुवा युवा एकेन्द्र महतले बताए ।

घर वायरिङका साथै सम्पूर्ण विद्युतीय सामान मर्मत गर्ने सीप भएका थापालाई म्याग्दी र बागलुङका विभिन्न गाउँबाट सामान मर्मत र घर वायरिङका लागि बोलाउन थालिएपछि उनको व्यवस्तता झनै बढेको छ ।

‘हातमा सीप हुने र तनमा जाँगर हुने हो भने गाउँघरमा नै बसीबसी जापान, कोरियामा कमाइने भन्दा बढी कमाउन सकिन्छ’, थापाले भने, ‘समयानुकूल व्यापार गर्न सकियो र अल्छी गरिएन भने गाउँघरमै प्रशस्त पैसा कमाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्