साउदी अरबसहित २० देशका झन्डा ‘ग्राउन्ड जिरो’ बाट हटाइयो



एजेन्सी : अमेरिकाको ‘ग्राउन्ड जिरो’ क्षेत्र अर्थात् सन् २००१ सेप्टेम्बर ११ मा आक्रमण भएको ट्वीन टावरको क्षेत्रबाट साउदी अरबको झन्डाको कलात्मक मूर्ति हटाइएको छ ।

आतंककारी आक्रमणपछि ट्वीन टावर क्षेत्रमा जी–२० राष्ट्रका झन्डा राखिएका थिए । साउदीसँगै यी सबै देशका झन्डा त्यहाँबाट हटाइएका छन् । सर्वसाधारणले साउदीको झन्डामात्रै हटाउन माग गरेका भए पनि विवाद उत्पन्न हुन सक्ने डरले अधिकारीहरुले सबै झन्डा हटाएका हुन्। 

फ्रेन्च कलाकार लरेन्स जेनकेनले बनाएका विश्वका २० आर्थिक शक्ति राष्ट्रका झन्डाका मूर्ति सन् २०११ सेप्टेम्बरको आक्रमणपछि ट्वीन टावर क्षेत्रमा राखिएका थिए । कलाकार जेनकेनले ‘मानवता’ को सम्मानका लागि झन्डाका मूर्ति बनाएको बताएका थिए । 

ग्राउन्ड जिरो क्षेत्रमा साउदी अरबको झन्डाको मूर्ति राखिएको विषय सुरुदेखि नै विवादमा परेको थियो । लामो समयको आलोचनापछि त्यस क्षेत्रबाट साउदी झन्डा हटाइएको हो । अमेरिकीहरु साउदी अरबलाई सेप्टेम्बर ११ आक्रमणको दोषी मान्छन् । साउदीले उक्त विषयको सुरुदेखि नै खण्डन गर्दै आएको छ ।

 

अमेरिकामा त्यस बेला चारवटा विमान अपहरण भएका थिए । विमान अपहरणकारी १९ जनामध्ये १५ जना साउदी नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्