वाइड बडी प्रकरणमा दोषीमाथि कारवाही माग



काठमाडौं: विभिन्न राजनीतिक दलका नेताले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेका गरेका छन् ।  रिपोर्टर्स क्लबद्वारा सोमबार यहाँ आयोजित साक्षात्कारमा नेताहरुले विमान खरीद प्रकरणमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री वा सरकारी कर्मचारी जोसुकै भए पनि कारवाही गर्नुपर्ने माग गरे । 

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पुस २३ गते नेपाल वायु सेवा निगमको सो विमान खरीदमा संलग्नमाथि अनुसन्धान गरी कानुनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो । 

साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा लागेका सन्दर्भमा विमान खरीदमा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताए । उनले सरकार र संसद्ले प्रा डा गोविन्द केसीका सम्पूर्ण माग पूरा गरिसकेका सन्दर्भमा आमरण अनशन बस्नाको कुनै अर्थ पनि छैन भने । 

नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले विमान खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री नै दोषी भए पनि कारवाही हुनुपर्ने माग गरे ।  सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवले समितिका सभापतिले नै विमान खरीद प्रकरणमा दोषी मन्त्री र पूर्वमन्त्रीलाई कारवाही गर्ने विषय नै प्रतिवेदनबाट हटाएको भन्दै आपत्ति जनाए । 

प्रतिक्रिया दिनुहोस्