कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं: नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आइतबार बस्दैछ।

 

  बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

 

 पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले सो मस्यौदा तयारीबारेमा जानकारी गराउनेछन्।  सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनः संरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो।

 

 समितिले हालसम्म विधान संशोधन मस्यौदा तयारीका लागि पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। समितिले संशोधित विधान सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्