माघे संक्रान्ति र मेरा हजुर बा 



जब जब प्रत्येक वर्ष हामी नेपालीहरु माझ माघे संक्रान्तिको आगमन हुन्छ । म झट्ट मेरा हजुर बालाई सम्झन पुग्छु । हुनत हजुर बा अहिले भौतिक रुपले मसँग हुनुहुन्न तर सम्झनामा सधैंभरि मेरो मनमा नै हुनुहुन्छ । 

 

हजुर बाका ती चाउरी परेका गाला त्यहिँ माथि झपक्क बाक्लो फूलेका ती सेतासेता हिमालमाथि टलक्क टल्कने हिउ जस्तै दारी म कहाँ बिर्सन सक्छु र ? आहा ! कस्तो सुहाउँथ्यो मेरो हजुर बालाई ती दुईवटै ओठलाई ढपक्कै ढाक्ने जति लामा एन्टेना आकारका जुँगा ।

 

 शिरमा सेतो रङमाथि रातो रङको बुट्टाले भरिएको ढाका टोपी त कहिल्यै छुटाउनु हुन्थेन हजुरबाले । प्रत्येक वर्षको माघि (माघेसंक्रान्ति ) पर्वमा म मेरो बालापन र हजुरबालाई अलि बढी नै मिस गर्छु । कारण, हजुरबा र माघीसँग मेरो बडो गज्जबको सम्बन्ध छ ।

 

एक समय थियो । जबजब मंसिर-पुसको कठ्याङ्ग्रिदो चिसो र तुसारोलाई छिचोल्दै माघेसंक्रान्तिको आगमन हुन्थ्यो । हाम्रो घरमा तरुल नपाकेको खाली हुन्थेन । अगेनामा पकाउन राखेको तरुलको भाँडोबाट एक नजर पनि अन्त हेर्न मान्दैन थिए मेरा आँखाले । 

 

कुनै शिकारीले आफ्नो शिकारलाई एकटकले नियालेझैँ नियाली रहन्थेँ। कतिखेर तरुल पाक्ला र हजुरबाले झिक्दै यो तरुल मेरो पट्टुलाई भन्नुहोला भन्ने पर्खाइमै हुन्थेँ ।

हजुरबा मलाई मायाले पट्टु भनेर बोलाउनु हुन्थ्यो । अनि, जहिल्यै पनि सबैभन्दा अगाडी तरुल झिकेर मलाई नै दिनुहुन्थ्यो । यदि भुलचुक पनि म भन्दा अगाडी अरुलाई दिएमा म खुब रुन्थेँ र खाँदैन भनेर जिद्दी गर्थेँ । 

 

त्यसपछि हजुरबा मलाई फकाउन अनेक उपाय रच्नु हुन्थ्यो । र भन्नुहुन्थ्यो, अबको यो सबै तरुल मेरो पट्टुको लागि । मलाई जुरुक्क समातेर आफ्नो काखमा राख्नुहुन्थ्यो र आफ्ना ती जिङ्ग्रिङ्ग परेका दारी मेरो गालामा घिसार्नुहुन्थ्यो ।

 

यसो गर्दा म खुब हाँस्थे । धेरै माया गर्नुहुन्थ्यो मलाई मेरो हजुरबाले । माघीको अघिल्लो दिन अर्थात् पुष मसान्तको दिन बेलुका हुन थाल्यो कि म हजुरबालाइ छोड्दैन थिए। 

 

जहाँ भए पनि बेलुका हुने बित्तिकै घरमै आइपुगी हाल्थेँ । किनकि, त्यसदिन हजुरबाले हाम्रो घर अगाडी बारीमा लगाएको तरुल निकाल्नु हुन्थ्यो । मलाई हजुरबाले तरुल निकालेको हेर्न औधी मन पर्थ्र्यो । हजुरबा बारीबाट एकएक गरी तरुल निकाल्दै मलाई दिनुहुन्थ्यो र म कसैले लैजाला भन्ने डरले फटाफट सुटुक्क झोलाभित्र राख्थेँ । 

 

सबै तरुल झिक्दासम्म हजुर बा पुरै धुलाम्य हुनुहुन्थ्यो । कपडा र हातगोडामा पुरै माटो नै माटो हुन्थ्यो । तरुल झिकी सकेर हजुरबा सिधैं हातखुट्टा धुन भनेर धारातिर लाग्नु हुन्थ्यो । म चाँही तरुलको झोला बोकेर घरतिर ।

 

तरुल मेरै जिम्मामा हुँदा मैले धेरैपटक बदमासी पनि गरेको छु । घरबाट सुटुक्क तरुल चोरेर साथीको घरमा पनि लगेर पकाएर खान्थ्यौं । यसरी चोरेर खादा टन्न खान पाइन्थ्यो । खुब मजा आउँथ्यो । 

 

मैले तरुल चोर्न लागेको हजुर बाले थाहा पाइहाल्नुहुन्थ्यो । तर पनि हजुर बाले मलाई कहिल्यै गाली गर्नु हुन्थेँन । राति तरुल पकाउँदा निकालेको भन्दा थोरै तरुल देखेपछि मतिर हेरेर हिस्स हाँस्दै भन्नु हुन्थ्यो, 'ओइ पट्टु तैले थाहा पाइस हाम्रो घरमा त चोर पल्केको रहेछ नि ?'  हजुरबाले त्यसो भन्दा मे केहि बोल्थेनँ र हाँस्दै गएर हजुर बाको काखमा लुटपुटिन्थेँ र ओठमाथिका ऐन्टना तानिदिन्थे। यसो गर्दा मलाई खुब मजा आउँथ्यो। अनि हजुरबा भन्नुहुन्थ्यो, 'पट्टु मात्या छ क्यारे ।' 

 

म अहिले पनि सम्झिन्छु । माघीको दिन बिहान बिहानै नुहाउनुको पिडा । जाडोमा नुहाउनु भनेको मलाई मर्नु सरह हुन्थ्यो । त्यहि नुहाउनुपर्ने पिरले त्यसदिनमा बिहान बिहानै घरबाट साथीहरुसँग घामताप्ने चौरतिर सुइकुच्छा ठोकिहाल्ठे। तर पनि म जति नै लुके पनि आमाले थाहा पाइहल्नुहुन्थ्यो म कहाँ छु भनेर। 

 

अनि त लुसुलुसु घोसेमुन्टो लगाएर गइहाल्नुपर्थ्र्यो। अझैं पनि आमाले नुहाउनभन्दा म मरे मान्दिनँ। एकदुई पल्ट त फकाउनु पनि हुन्थ्यो। तर आमाको त्यो सम्झाई र फकाईले म मा त्यो चिसोमा नुहाउन सक्ने हिम्मत र सामर्थ्यलाई भने कहिल्यै ल्याउन सकेन । त्यसपछि त आमाले जबरजस्ति भए पनि नुहाउन खोज्नुहुन्थ्यो । त्यसो गर्दा म झनझन् जोड जोडले कराएर रोइदिन्थेँ । 

 

म रोएको हजुरबाले थाहा पाइहाल्नुहुन्थ्यो। त्यसपछि आमालाई गाली गर्दै मलाई लगेर जानुहुन्थ्यो । अनि आमा भन्नुहुन्थ्यो। यसरी पुल्पुल्याएर राख्नाले त यो यसरी मात्तेको नि। तर हजुरबा म बाहेक अरुको वास्ता नै गर्नुहुन्थेन मेरो अगाडी। 

 

सायद हजुर बा मलाई रोएको हेर्न चाहनु हुन्थेन। त्यसपछि हजुरबा मलाई पिस दिएर फकाउनु हुन्थ्यो र कुरै कुरामा भुलाएर मलाई तातो पानीले नुहाई दिनुहुन्थ्यो। म पनि हजुरबाको कुरै कुरामा खुसी भएर थुरूरू काँप्दै काँप्दै नुहाई दिन्थे। यसरी नै सधैं मेरो माघी हजुरबासँग नै बित्थ्यो। आहा ! हजुर बासँगको माघी पर्व कस्तो रमाइलो थियो। 

 

मलाई सम्झना भएसम्म मलाई मेरो हजुर बाले कहिल्यै पनि रुवाउनु भएन। उल्टै मलाई रुवाउनेहरुलाई गाली गर्नुहुन्थ्यो। मैले गल्ती नै गरे पनि कहिल्यै पिट्नु भएन। बरु यसो गर्नुहुँदैन पट्टु भनेर सम्झाउनुहुन्थ्यो। अहिले हजुरबा मसँग नभए पनि हजुरबासँग बिताएका एकएक पलको सम्झना मसँगै छन् र रहिरहने छन् । 

            

         

 

प्रतिक्रिया दिनुहोस्