अभिषेकले नक्कली सुनको औंठी लगाइदिएर ‘प्रपोज’ गरेका थिए ऐश्वर्यालाई



एजेन्सी : बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन फेब्रअरी ५ देखि ४४ वर्ष पुगेका छन् ।

फिल्ममा गरेको अभिनयका कारण मात्र नभई अभिषेक जीवनसंगिनी ऐश्वर्याको कारण पनि उत्तिकै चर्चित छन् । अभिषेक फिल्मका कारणभन्दा पनि प्रेमसम्बन्धका कारण निकै चर्चामा रहे ।

करिश्मा कपूर र रानीजस्ता सुपरस्टारसँग प्रेमसम्बन्धमा रहेका अभिषेकको सम्बन्ध विवाहमा पुग्न नपाई समाप्त भयो । दुवैसँग विवाहको नजिक पुगिसकेका भएपनि उनीहरुको विवाह भने हुन सकेन ।

सन् १९७६ मा जन्मिएका अभिषेकले अन्ततः आफूभन्दा तीन वर्ष जेठी ऐश्वर्यासँग विवाह गरे । करिश्मासँग विवाहको टुंगो लागेर कार्डसम्म बाँडिसकेपछि उनीहरुको विवाह टुटेको थियो ।

करिश्मासँग ब्रेकअप भइसकेपछि अभिषेक ऐश्वर्या रायसँग सम्पर्कमा आए । दुवैको भेट १९९७ मा फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००० मा ढाई अक्षर प्रेम के मार्फत एकसाथ फिल्ममा काम गरेका थिए ।

सन् २००४ मा ‘बंटी और बबली’ को शुटिङका क्रममा एकअर्कासँग नजिकिएका ऐश्वर्या र अभिषेकको २००७ को जनवरी १४ मा विवाह भएको थियो ।

ऐश्वर्याले एक अन्तरवार्तामा अभिषेकले आफूलाई प्रपोज गरेको खुलाएकी थिइन् । अभिषेकले नक्कली सुनको औंठी लगाइदिएर हलिउड स्टाइलमा प्रपोज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्