म्याग्दीमा भेटियो दुर्लभ  ‘किङ्ग कोब्रा’



म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानी जङ्गलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत ५ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरूको खोज अनुसन्धानमा लागेका प्राध्यापक केशव चोखालले मंगलवार कोसेपानीको जङ्गलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग  फेला पारेका हुन् । 

हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले म्याग्दीमा भेटिएको सो सर्प ‘किङ्ग कोब्रा’ नै भएको पुष्टि गरे । उनका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ्ग कोब्राको सङ्ख्या अत्यन्त न्यून छ ।

‘किङ्ग कोब्रा’लाई नेपालीमा काली नाग वा राज नाग भनेर चिनिन्छ । दुर्लभ मानिएको यो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राध्यापक चोखालले बताए । 

यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्य पहाडी क्षेत्रमा बसाइ सरेको हुनसक्ने उनको अनुमान छ । यो अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले टोकेको थाहा नभएको उनले जानकारी दिए । 

यो सर्पलाई विश्व संरक्षण संघले अति संवेदनशील प्रजातिमा सूचिकृत गरेको छ । त्यसै गरी नेपालको कानुनले पनि यसलाई संरक्षित वन्यजन्तुको सूचिमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्