उप–प्रधानमन्त्री यादवले अाेलीलार्इ दिए यस्ताे



भक्तपुर – उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले 'बाहुन क्षेत्रीकै कारण देशको विकास हुन नसकेकाे अाराेप लगाएका छन्। धेरै बाहुन क्षेत्रीकै वरिपरी मात्रै सत्ता र शासन घुमिरहेकाले देशले विकासकाे गति लिन नसकेकाे अाराेप लगाएका हुन्।

संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलामा मंगलबार बोल्दै उहाँले ७ प्रतिशत व्यक्तिहरु सत्ताको वरिपरी रहेन र ७३ प्रतिशत बाहुल्य भएका व्यक्ति सधै सत्ता र शासनबाट बाहिर रहनुपर्ने भएकाले देशको राजनीति नै असुन्तुलित बनेको बताउनुभयो ।

‘नेपाल भनेकै नेवारले चिनिन्छ, त्यति हुँदाहुँदै पनि नेवार, मधेशी, जनजाति, दलित, पहाडका खस सत्ता र शासनको केन्द्र बिन्दुबाट सधैँ बाहिर पारिन्छन्’, मन्त्री यादवले भन्नुभयो, ‘अब समानुपातिक भागिदारी र साझेदारी हुने गरी सत्ता र शासन चल्नुपर्छ ।’

उहाँले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभयो । उहाँले अहिले आएको परिवर्तन संघीय गणतन्त्रलाई संरक्षित गरी सबैको समान हक, अधिकार पाउने अवस्था सृजना गर्न संविधान संशोधन अनिवार्य भएको बताउनु भएको हो ।

‘संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्धाको सम्बोधन गर्ने र विगतमा भएको विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौं’, मन्त्री यादवले भन्नुभयो, ‘अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौं ।’

अहिलेको संविधानबाट पछाडि परेको वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव भएकाले संविधान संशोधन गर्नुपर्ने उहाँको धारणा थियो ।

मन्त्री यादवले भन्नुभयो, ‘अहिलेम्म केही सीमित व्यक्तिको वरिपरी मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेशी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, त्यो अब पहुँचको विस्तार गर्नुपर्छ ।’

सबैको पहिचान र भाषिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो पार्टीले सरकारमा रहेर यसका लागि संघर्ष गरिरहेको उहाँको भनाई थियो । मन्त्री यादवले यसवर्ष १२०० वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्