कसैलाई अपमान गरेर राष्ट्रिय एकता हुँदैन : दाहाल



धादिङ:  पूर्व प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कसैलाई अपमान गरेर राष्ट्रिय एकता नहुने बताएका छन्। लि लः फङ घले समाजको ल्होसार कार्यक्रमको उद्घाटन गर्न धादिङबेसी आएका दाहालले संविधान जारी गर्नको लागि उत्पीडित जाति र भाषिक समुदायको बलिदान अतुलनीय रहेकाले सबैलाई सम्मान गरेमा मात्र एकता हुने बताए।

जनताका हक अधिकार सुनिश्चित गराउनको लागि कुनै पनि कसर बाँकी नराख्ने उनले बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले सबै जातजाति, भाषाभाषी र वर्ग समुदायको अधिकारलाई सुनिश्चित गर्ने जमर्को गरेको भएपनि पुर्ण नभएकाले संशोधन गर्दै लैजाने उनको भनाई थियो।

‘धेरै अप्ठ्याराहरू रहँदा रहँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरिएकाले धेरै कुरा छुट्न पुगेको छ’, दाहालले भने, ‘जनताको इच्चा चाहाना अनुरुप संशोधन गर्दै लैजानेछौँ।’ संविधान पुर्ण नभएकाले परिमार्जन गर्दै जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ। यो देशमा बस्ने कुनैपनि समुदायले विभेद महशुस गर्न नपरोस् भनेरै संविधानमा समावेशी लोकतन्त्र राखिएको बताउँदै दाहालले कुनैपनि एउटा जातजातिलाई तल राखेर राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता बलियो हुनै नसक्ने तर्क गरे।

संविधानका देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रता बाहेक अन्य कुनैपनि विषयलाई अपरिवर्तनीय भनेको छैन्। त्यसकारण समय र परिस्थिति अनुसार संशोधन गर्दै लैजान सकिने उनको भनाई छ। घले जाती आदिवासी जनजातीको सुचिमा छुटेको कुरा आँफुले भर्खरै मात्र थाहा पाएकाले छुट्टै पहिचान र अस्तित्व रहेको घले जातिलाइ आदीवासी जनजातीको सुचिमा सुचिकृत गराउन सरकार, संसद र पार्टीबाट पहल गर्ने प्रतिवद्धता समेत उनले ब्यक्त गरे। सोही कार्यक्रममा घले समाजको तर्फबाट घलेजातीलाई आदीवासी जनजातीको सुचिमा सुचिकृत गराउनको लागि दबाव स्वरुप दाहाललाई ज्ञापन पत्र बुझाइएको थियो।

घले जातिको इतिहासलाई सरसर्ती अध्ययन गर्दा आदीवासी जनजातिको सुचिमा नराख्दा अन्याय नै भएको उनले बताए। सबै भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग र समुदायको हक अधिकार र पहिचान स्थापित गरेर मात्रै नेपालको राष्ट्रिय एकता बलियो हुने अनि राष्ट्र बलियो हुने भएको बताउँदै दाहालले त्यसपछि मात्रै समृद्धिको अभियान सफल हुने बताएका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्