डा. केसी अनसनलाई २० जनाको समर्थन !



काठमाडौँ : चिकित्सा शिक्षा सुधारको माग गरेर १६‌ औँ पटक अनसनमा रहेका प्रा. डा. गोविन्द केसीप्रति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायत २० जना नागरिक समाजका अगुवाले एक्यबद्धता जनाएका छन् ।

उनीहरूले मङ्गलवार संसदीय प्रक्रियामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई डा. केसीसँगको पछिल्लो सम्झौता अनुसार पारित गर्न र उनको जीवन रक्षा गर्न सरकार तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गरेका छन् ।

अपिल जारी गर्नेमा पूर्व प्रधानन्यायाधीश कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा, भैरव रिसाल, ध्रुवचन्द्र गौतम, अभि सुवेदी, राजेन्द्र दाहाल, जयराज आचार्य, दिल्लीदेवी शाक्य, मदन उपाध्याय, रमेशकान्त अधिकारी, शेखर गुरुङ, वीरेन्द्र मिश्र, नोबेल किशोर राई, राम दयाल राकेश, सरोज धिताल, मधु घिमिरे, द्वारिका ढुङ्गेल, गीता केसरी र खेमराज रेग्मी रहेका छन् ।

उनीहरू संयुक्त अपिलमा राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्त्वपूर्ण रहेकोले सरकारले यस अघि डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नु सरकारसँगै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको पनि जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

डा.केसीसँग पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको पहल र संलग्नतामा उनकै निवासमा भएको वार्तापछि सम्भव भएको औँल्याउनै अपिलमा भनिएको छ, ‘यो सम्झौताप्रति प्रधानमन्त्रीजीको व्यक्तिगत जिम्मेवारी पनि जोडिएको हामी स्मरण गराउन चाहन्छौँ ।’

सत्तारुढ दलको संसदीय दलका नेतासमेत भएको नाताले प्रधानमन्त्रीले यसअघि आफ्नो निर्देशन अनुसार डा. केसीसँग भएका सहमतिका पक्षमा आवश्यक संसदीय सहमति निर्माणमासमेत विशेष ध्यान दिइने विश्वास लिएको उनीहरूले विश्वास व्यक्त गरेका कान्तिपुरमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्