‘निजी विद्यालय भाग्ने अवस्था आउँछ’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था निम्तने दाबी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा गठित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सार्वजनिक विद्यालयहरूको स्तरवृद्धि भएपछि निजी विद्यालयहरू आफैँ भाग्ने बताए । 

‘सामुदायिक विद्यालयको शैक्षिक गणस्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैँ घट्छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरू महँगा निजी विद्यालयमा जाँदैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिबन्ध लगाउने पक्षमा छैन । तर, विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिक्छन् र ?’

प्रधानमन्त्री ओलीले आयोगले बुझाएको प्रतिवेदनको व्यापक अध्ययन गरिने बताए । ‘आशा छ, यो प्रतिवेदन सिफारिस मात्र नबनोस् नीतिकै रूपमा यसलाई कार्यान्वयन गर्न सकियोस्,’ उनले भने । आयोग अध्यक्ष तथा मन्त्री पोखरेलले सरकारले सञ्चालन गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई आयोगको प्रतिवेदनले सहयोग पुर्‍याउने बताए । भावी दिनको शिक्षा नीति बनाउन प्रतिवेदन सहयोगी हुने उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मन्त्रालयका सचिव तथा आयोगका सदस्य खगराज बरालले प्रतिवेदन तयार पार्ने क्रममा आठवटा विषयगत समिति बनाएर करिब चार हजारजनासँग प्रत्यक्ष कुरा गरिएको बताए । अयोगले पुस २२ मै प्रतिवेदन तयार गरेको भए पनि प्रधानमन्त्रीसँग समय व्यवस्थापन गर्न ढिलो भएका कारण मंगलबार मात्र हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्