ट्याक्सी व्यवसायीको दबाबमा टुटल र पठाओ बन्द



काठमाडौं : सरकारले स्मार्ट सिटी बनाउँदै डिजिटल नेपाल बनाउने उद्घोष गरिरहेका बेला नयाँ सञ्चार प्रविधिमा आधारित व्यवसाय भने बन्द गरको छ। उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर ट्राफिक प्रहरीले नौलो प्रविधिमा आधारित यातायात सेवा दिइरहेका टुटल र पठाओ सेवालाई बन्द गरेको छ।

टुटल र पठाओ सेवाअन्तर्गत यात्रुलाई सेवा दिइरहेका चारजना मोटसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरूको सेवा बन्द गरेको हो। टुटल र पठाओ भनेका निजी मोटरसाइकलमा यात्राको सुविधा दिने मोबाइल एप हुन्। यी एपले सेवा दिने मोटरसाइकल र यात्रुलाई जोड्ने गर्छन्।

उपत्यकामा यो सेवा लोकप्रिय बन्दै गएको अवस्थामा ट्याक्सी सञ्चालकहरूले ट्राफिक प्रहरीमार्फत यी सेवा बन्द गराउन दबाब बढाएका थिए। स्रोतका अनुसार सबै ट्याक्सी सञ्चालकले ट्राफिक प्रहरीलाई आफ्नो पक्षमा पार्न सफल भएपछि उक्त सेवा दिइरहेका मोटरसाइकल चालकलाई पक्राउ गरेको थियो। ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले टुटल र पठाओ सेवा सञ्चालन बन्द गराइएको बताए। माटरसाइकलमा यात्रु बोक्दै गरेका चारजनालाई एकएक हजार रुपैयाँ जरिबानासमेत गरिएको उनले जानकारी दिए।

सरकारले नयाँ प्रविधिलाई रोक्ने गरी गरिएको यो कार्य सरकारकै स्मार्ट सिटी बनाउने अवधारणाविपरीत भएको सूचना तथा सञ्चार विज्ञ मनोहर भट्टराईले बताए। ‘एकातिर डिजिटल नेपाल र स्मार्ट सिटी भन्ने अर्कोतिर नयाँ प्रविधिमा आधारित सेवा बन्द गराउनु नमिल्दो काम हो,’ भट्टराईले भने। एकातिर डिजिटल नेपाल र स्मार्ट सिटी भन्ने अर्कोतिर नयाँ प्रविधिमा आधारित सेवालाई बन्द गराउनु नमिल्दो काम हो ।

पछिल्लो समय उपत्यकामा टुटल र पठाओ सेवामा जोडिने ग्राहकको संख्या उल्लेख्य बढ्दै गएको थियो। दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग १२ हजारभन्दा धेरै राइडर छन् भने चार महिनाअघि सञ्चालनमा आएको पठाओले ३० हजार राइडर रहेको बताएको छ। त्यस्तै, पठाओको एप दुई लाखपटक डाउनलोड भइसकेको छ। लोकप्रियता बढ्दै गएको अवस्थामा नेपाल मिटर ट्याक्सी संघले ऐनविपरीत भएको भन्दै लबिङ सुरु गरेको थियो।

ट्राफिक प्रहरीले भने यो सेवा यातायात व्यवस्था ऐनविपरीत भएको दाबी गरेको छ। यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी सवारीसाधनका रूपमा दर्ता भएका सवारीसाधनले भाडामा लगाउन पाइँदैन। ‘यातायात व्यवस्था ऐनले निजी सवारीसाधनलाई यात्रु बोक्न नपाइने भनेको छ,’ पन्तले भने, ‘सेवा सञ्चालन गर्ने हो भने पहिले ऐन परिवर्तन हुनुपर्छ।’ यो सेवा सञ्चालनमा ट्याक्सी सञ्चालकको विरोध भइरहेको उनले बताए। विदेशको उदाहरण छ भन्दैमा नेपालमा पनि चलाउन पाइन्छ भन्न नपाइने पन्तले बताए। यस्तो सेवा छिमेकी देश भारत, बंगलादेश, अमेरिकालगायतका कैयन् देशमा समेत रहेको नागरिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्