नयाँ हवाई रुटमै नेपालको जोड



काठमाडौं : नयाँ हवाई रुटको विषयमा भारतीय उड्डयन मन्त्रीसँग बुधबार दुईपक्षीय छलफल हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुबीच साइडलाइन वार्ता हुने भएको छ । 

‘ग्लोबल एभिएसन समिट २०१९’ भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अधिकारी भारत भ्रमणमा गएका छन् । 

समिटमा विश्वभरका उड्डयन क्षेत्रका विज्ञहरू सहभागी छन् । मंगलबारबाट सुरु भएको समिटमा मन्त्री अधिकारीले हवाई क्षेत्रमा छिमेकी राष्ट्र भारतसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । 

बुधवार दुई देशका मन्त्री स्तरमा छलफल हुने र सो छलफलमा हवाई रुट मुख्य विषय भएको प्रतिनिधिमन्डलका सदस्य तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । 

बुधबार मन्त्री अधिकारीले नयाँ हवाई रुटको विषयमा भारतीय उड्डयन मन्त्रीसँग साइडलाइन वार्ता गर्न लागेका हुन् । गत असोजमा नेपाली र भारतीय प्राविधिक टोलीबीच भएको वार्ता भाँडिएको थियो । 

वार्ता भाँडिएसंगै नयाँ हवाई रुट खोल्ने विषय टर्दै गएपछि प्रधानमन्त्री स्तरबाटै पुनः पहल सुरु भएको थियो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली समेतले छलफल गरेका थिए । भारतपक्षले प्राविधिक स्तरको वार्तामा अहिले रुट दिन नसक्ने जनाउ दिँदै नेपाल पक्षलाई फिर्ता गरेको थियो ।

वार्ता असफल भएको चार महिनापछि पुनः हवाई रुट खोल्ने विषयमा परराष्ट्र, तालुक मन्त्रालय र प्रधानमन्त्रीस्तरबाट छलफल सुरु भएको थियो । नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै पाँच वर्ष भइसकेको छ । 

दुई वर्ष अगाडी नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमति समेत भएको थियो । तर हालसम्म पनि कार्यन्वयनमा भने आउन सकेको छैन । कार्यन्वयन गर्ने अन्तिम प्राविधिक वार्ता भाँडिएपछि नयाँ रुट खुल्ने विषय पुनः टर्दै आएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्