राष्ट्रपतिबाट पुनःनिर्माण भएका सम्पदाको अवलोकन



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेका छन ।

अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीेबारे चासोपूर्वक जानकारी लिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र ती निर्माणाधीन आयोजनाका प्रमुखले ऐतिहासिक संरचनाको हालसम्मको प्रगतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

रानीपोखरीको निर्माणमा ६० प्रतिशत भएको छ भने दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ । धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत रहेको छ भने काष्ठमण्डप र वसन्तपुर दरबारको उत्साहजनक ढङ्गबाट निर्माण भइरहेको छ ।

राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौँ महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी थिए । दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी सहभागी थिए ।

प्राधिरकणले भूकम्प पुनःनिर्माण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या आठ लाख २७ हजार ५५० रहेकामा अनुदान सम्झौता भएका लाभग्राहीको सङ्ख्या सात लाख ७८ हजार ११७ रहेका छन् । त्यसमध्ये पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या सात लाख ७० हजार ७३६ रहेको छ ।

दोस्रो किस्ता भुक्तानी लिनेको सङ्ख्या छ लाख २७ हजार ७७० छ भने तेस्रो किस्ता पाँच लाख ३२ हजार ५३२ लाई भुक्तानी गरिएको प्राधिकरणले जानकारी दिएको छ । हालसम्म निजी आवास निर्माणको सङ्ख्या चार लाख ८२ हजार ७८५ छ भने ३८९ पुरातत्विक एवं सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्पन्न भएका छन् ।

विश्वसम्पदा सूचिमा सूचिकृत भएका क्षेत्रमा १०१ वटा संरचना निर्माण भइसकेको छ । काठमाडौँ उपत्यकामा ४०४ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । उपत्यका बाहिर भने त्यस्ता सम्पदा पुनःनिर्माण भएको सङ्ख्या ३४६ रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्